Shittalpati
पाल्पामा मेलमिलाप दिवस: सबै दलका नेताहरु एउटै मञ्चमा

रामचन्द्र रायमाझी

पाल्पा,  प्रायः अन्य संघ संस्थाहरुका औपचारिक कार्यक्रमहरुमा देखिने तर पार्टीका कार्यक्रमहरुमा सबै राजनितिक दलहरु कमैमात्रमा देखिने गरेको पाइन्छ । आफ्ना प्रतिष्पर्धी पार्टीका कार्यक्रममा विरलै भेटिने राजनितिक दलहरु भने शुक्रबार काँग्रेसको एक औपचारिक कार्यक्रममा देखिएका छन् । नेपाली काँग्रेस पाल्पाले तानसेनमा ४६ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा चियापान तथा मेलमिलाप कार्यक्रमको आयोजना गरी जिल्लाका सबै सक्रिय राजनीतिक दलका नेताहरुलाई एउटै मञ्चमा उभ्याएको हो ।

कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनमुक्ति लगायत राजनीतिक दलहरु पाल्पाका सबै पालिकाका प्रमुख, विभिन्न संघ संस्थाका प्रमुख, सरकारी तथा गैर सरकारी निकायका प्रमुखहरुसँग मेलमिलाप गरिएको छ । कार्यक्रममा वीपी कोइरालाले अगाडि सारेको मेलमिलापको अभियानलाई सबै राजनीतिक दलले अनुसरण गर्दै एकजुट भएर देश विकासमा लाग्नुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा बीपी कोइरालाले अंगिकार गरेको राष्ट्रिय मेलमिलाप नीतिलाई स्मरण गर्दै नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि संविधानका पक्षधर राजनीतिक शक्ति बीचको सहकार्य र मेलमिलाप आवश्यक रहेको बताएका छन् । सुदृढ र एकतावद्ध काँग्रेसले मात्रै त्यो आवश्यकता अनुरुपको जिम्मेवारी पूरा गर्नसक्ने उनले बताए । ‘हामीले बनाएको संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि संविधानका पक्षधर राजनीतिक शक्ति बीचको सहकार्य र मेलमिलाप आजको आवश्यकता हो,’ सभापति श्रेष्ठले भने ।

सभापति श्रेष्ठले महाधिवेशनका क्रममा दुखेका मनहरूलाई टाल्दै अघि बढ्ने समेत बताए । ’नेपाली कांग्रेसको भर्खरै सम्पन्न महाधिवेशनका क्रममा दुखेका मनहरूलाई टाल्दै पार्टीभित्र एकतावद्ध रुपमा नयाँ उर्जाका साथ त्यो कार्यभार पूरा गर्नुपर्नेछ,’ उनले भने ।

चुनावी प्रतिष्पर्धा एउटा लोकतान्त्रिक शासन गर्ने विधी भएपनि अन्य समयमा सबै राजनितिक दल, संघसंस्था मिलेर काम गर्ने प्रक्रियामा नेपाली काँग्रेस सधै अग्रस्थानमा रहने उनले अन्य राजनीतिक दलसँग प्रतिवद्धता जनाए । कार्यक्रम काँग्रेस सभापति श्रेष्ठको अध्यक्षता, उपसभापति झपेन्द्र गहिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update