रमेश विश्वकर्मा
गुल्मी, नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र केसीले आसन्न निर्वाचनमा काँग्रेस एक्लै जनताको बीचमा जाने बताएका छन् । भर्खरै सकिएको नेपाली काँग्रेसको महाधिवेशनमा रेसुङ्गा नगरपालिकाबाट निर्वाचित पार्टीका विभिन्न पदाधिकारीहरुलाई सम्मान गर्न तम्घास पुगेका केसीले कुनै पनि हालतमा गठबन्धन बिना नै काँग्रेस निर्वाचनमा जाने बताएका हुन् । नेता केसीले काँग्रेसलाई आसन्न तीनै तहको निर्वाचनमा पहिलो पार्टी बनाउन आग्रह गर्दै भने,–‘हामीले आफुले गरेका सबै गल्तीलाई सुधारेर एकल ढङ्गबाट पार्टीलाई जिताउन लागौं । आत्मालोचना गरेर अगाडि बढौं ।’ अहिले सबैको जिम्मेवारी गुल्मी जिल्लामा काँग्रेसलाई जिताउनु रहेको केसीले बताए ।
लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले राष्ट्रिय राजनीतिलाई अब नेपाली काँग्रेसले डोराउने दाबी गरे । सम्मान ग्रहण गर्दै उपसभापति श्रेष्ठले भर्खरै सकिएको अधिवेशन एकताको अधिवेशन बन्छ कि बन्दैन भन्ने कुरामा आफू निकै चिन्ता रहेको बताए । उनले भने,–‘सबैले अधिवेशनमा जसरी क्रियाशिल देखाउनु भयो । त्यसरी नै अब आउने चुनावमा काँग्रेसलाई जिताउन पनि क्रियाशिल हुन आग्रह गर्दछु ।’ गुल्मी कांग्रेसलाई बलियो बनाउन सबै एक ढिक्का भएर लाग्नुपर्ने उपसभापति श्रेष्ठको भनाई छ । उपसभापति श्रेष्ठले सबै नेपाली जनताको भविष्य काँग्रेसले मात्रै उज्वल बनाउन सक्ने बताए । फरक प्रसंगमा उपसभापति श्रेष्ठले शिक्षा र स्वास्थ्यको क्षेत्रमा भइरहेको व्यापारीकरणप्रति लक्षित गर्दै भने,–‘शिक्षा र स्वास्थ्यमा असाध्यै व्यापारीकरण भएको छ । यसलाई काँग्रेसले नीति बनाएर अन्त्य गर्नुपर्छ ।’ नेपाली काँग्रेस गुल्मीका सचिव भगतसिंह खड्का, काँग्रेसका पूर्व कोषाध्यक्ष श्रीप्रसाद भलामी लगायतले काँग्रेसले भर्खरै सकिएको महाधिवशेनबाट सबै समुदायलाई मिलाएर लगेको बताए । आम जनताका माझ सबै मिलेर पुग्नुपर्ने बेला आएको भन्दै उनीहरुले सबै तहका नेता कार्यकर्ता एक भएर जनताको बीचमा जानुपर्ने धारणा व्यक्त गरे । अबको एउटै उद्देश्य सबैलाई एक बनाएर काँग्रेसलाई जिताउनु रहेको उल्लेख गरे । नेपाली काँग्रेस रेसुङ्गा नगर सभापति जयश्वर पन्थीको सभापतित्व, सावित्रा भण्डारीको स्वागत, सचिव गुणाखर पाण्डेको सञ्चालन कार्यक्रम भएको थियो ।