रामचन्द्र रायमाझी
पाल्पा, जिल्लाको रिब्दीको गाउँपालिका २ लघुवामा भएको बस दुर्घटनामा परी मृत्यु भएका सातै जनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु भएकाहरु बुटवल उपमहानगरपालिका १७ का ३० वर्षीय पशुपति रसाली, सोही ठाउँका ४० वर्षीय खुमबहादुर राना, बुटवल ११ का ३२ वर्षीय विजय थापा क्षेत्री, अर्घाखाँची मालारानी–२ का २८ वर्षीय भोजेन्द्र विक, सोही स्थानकै २५ वर्षीय शङ्कर विक, ३६ वर्षीय मोहन कुंवर र अर्घाखाँची मालरानीका ३३ वर्षीय अर्जुन विक रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।
आइतबार विहान १०ः३० बजेको समयमा बुटवल वुद्धनगरका बीरबहादुर विकको शवको अन्त्येष्टिका लागि बस रिडी हिडेको थियो । शव बोकेर रिडी घाट हिडेको लु १ ख ७२७९ नम्बरको बस दुर्घटनामा परेको हो । मृतक विक परिवार अर्घाखांचीको मरेङबाट बुटवलमा बसाई सरेको बताइएको छ । दुर्घटनामा परी १६ जना घाइते भएका छन् । जसमध्ये ९ जनाको लुम्बिनी मेडिकल कलेज प्रभास र ६ जनाको युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ । घाइते मध्ये एक जनाको अवस्था गम्भीर र अन्यको अवस्था सामान्य रहेको अस्पताल प्रशासनले जनाएकोे छ ।
घाइतेहरूमा बुटवल उपमहानगरपालिका १७ का ३८ वर्षीय विशाल रसाइली, सैनामैना नगरपालिका ६ का ३१ वर्षीया मिरा रामदाम, सोही ठाउँका ५० वर्षीय श्याम बहादुर विक, बुटवल १७ का ४५ वर्षीय घनबहादुर सुनार, अर्घाखाँची पाणिनी १ का ५४ वर्षीय गोपाल नेपाली, अर्घाखाँची छत्रकोट ३ का ४३ वर्षीय लालबहादुर विक, अर्घाखाँची मालरानी २ का ३७ वर्षीय रमेश टोहटो, रुपन्देही तिलोत्तमा १४ का ४५ वर्षीया दिलमाया सुनार, सोही ठाउँकी ४५ वर्षीया तारा सुनार रहेका छन् ।
यस्तै अर्घाखाँची मालारानी –२ का ३९ वर्षीय तुल्सीराम विक, सोही ठाउँका २२ वर्षीय दिपक विक, बुटवल उपमहानगरपालिका १२ का ४८ वर्षीय माधव बस्याल, अर्घाखाँची मालारानी –२ का ४० वर्षीय अर्जुन रसाइली, सोही ठाउँका ३५ वर्षीय लक्ष्मण टोहटो, २७ वर्षीय विष्णु विक र १३ वर्षीय बरुण रसाईली घाइते रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ओराले चिप्लो सडकबाट बस ७० मिटर मिटर तल खसेर बारीको पाटामा अडिएको छ । दुर्घटनामा परेका सबैको उद्धार गरिएको र अत्येष्टीका लागि ल्याइएको शव समेत व्यवस्थापन गरिएको छ । बसमा करिव ४० जना मलामी सवार रहेको बुझिएको छ । जिल्लाबाट नेपाल प्रहरी ,शसस्त्र प्रहरीको टोली र स्थानीय बासिन्दाले दुर्घटनास्थलका मलामी तथा घाईतेहरुको उद्धार गरेका थिए । बस चालक भने फरार रहेको प्रहरीले जनाएको छ । बस दुर्घटना स्थलमा सित परेर चिसो भएको, साघुरो, घुम्ती रहेको सडक किनारका डिभाईडर भत्काउदै घिसारिएर दुर्घटना भएको छ । तराई क्षेत्रमा चलाएको चालक रहेको, पहाडी बाटोमा अनुभव नभएकाले दुर्घटना भएको हुन सक्ने अन्य सवारी चालकहरुले बताएका छन् । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भईरहेको जनाएको छ । -तस्वीर : कृष्ण पोखरेल