गुल्मी, नेपाली काँग्रेसले जिल्लाको इस्मा गाउँपालिकामा शोक सभा कार्यक्रम गरेको छ । इस्मा–६ वडा कार्यसमितिको आयोजनामा शोक सभा कार्यक्रम गरिएको हो । नेपाली काँग्रेस गुल्मीकी जिल्ला सदस्य तथा नेपाली काँग्रेस उत्तर भारतकी अध्यक्ष सुनिता जिसीकी सासुआमा इस्मा गाउँपालिका ६ अम्मरपुर निवासी ८१ वर्षीया उजेला कुँवरको निधनप्रति काँग्रेस अम्मरपुरले शोक सभा कार्यक्रम गरेको छ ।
शोक सभा कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवन प्रसाद श्रेष्ठले मृतक उजेला कुँवरसहित उनको सिंगो परिवारले प्रजातन्त्र स्थापनाका लागि पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए । ‘प्रजातन्त्र स्थापनामा मृतक कुँवर सँगै उनको परिवारले नेपाली काँग्रेसलाई महत्वपूर्ण योगदान गरेको छ ’उपसभापति श्रेष्ठले भने । उनले कुँवरको परिवारको प्रशंसा जति गरेपनि कम बताए । कार्यक्रममा विशेष अतिथि नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले मृतक कुँवरको सिङ्गो परिवार समाजसेवामा निकै अग्रसर रहेको बताए । उनले समाजसेवामा कुँवरको परिवार पारिवारिक स्वार्थ भन्दा माथि उठेर लागेको भन्दै मृतक कुँवरले देखेको सपना पूरा काँग्रेस लाग्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सदस्य विष्णु कुमारी सापकोटाले पनि कुँवर परिवारको प्रशंसा गरेकी थिइन् । शोक सभा कार्यक्रममा नेपाली काँग्रेस गुल्मीका उपसभापति अनन्तराम पौडेल र शिव बहादुर केसी, सचिव भगतसिंह खड्का र जगदीश भट्टराई, सह–सचिव छवि पाण्डे र धर्मराज पाण्डेलगायत जिल्ला सदस्यहरु, नेपाली काँग्रेस क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति चन्द्र बहादुर महत्, क्षेत्र नम्बर २ को प्रदेश सभा ’क’ का सभापति झबिन्द्र अर्याल, इस्मा गाउँपालिका सभापति कृष्ण रिजाल लगायतको उपस्थिति रहेको थियो । वडा सभापति ढाल बहादुर कुँवरको सभापतित्वमा, नेपाल तरुण दल क्षेत्र नम्बर २ का उपसभापति अर्जुन भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।