पश्चिमी वायुको प्रभावका कारण नेपालमा चिसो बढ्दै गएको छ । चिसो बढ्दै जाँदा विपन्न वर्गका लागि पीडादायी बन्ने गरेको छ । जाडोले बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोकै कारण देशभर थुप्रै मानिसले ज्यान गुमाउनु परेको समाचार पनि सार्वजनिक भइरहेका छन् । यही समय कतिपय मनकारीहरु सहयोगापेक्षीहरुको सेवामा लाग्ने गरेका पनि छन् । चिसोबाट बच्न डाक्टरहरुले सल्लाह दिने गरेका छन् । तर डाक्टरहरुको सल्लाह विपन्न वर्गका मानिसहरुका लागि भने व्यवहारमा उतार्न गाह्रो हुन्छ । उनीहरुका लागि त्यो सल्लाह कागलाई बेल पाक्यो हर्षन विस्मात् भने जस्तै भएको छ ।
सेवा नै धर्म हो भन्ने मूल मर्मलाई आत्मसाथ गर्दै मन हुने केही व्यक्तिहरुले आम्दानीको केही अंश वा आफ्नो समय जोगाएर पर सेवामा लगाउँछन् । बोलेर, गरेर वा दिएर हुनसक्ने उपकारको कर्मले ‘परत्र’ सुधार हुने शास्त्रीय मान्यता पनि छ । यो र यस्तै संस्कार र संस्कृतिका रुपमा बगनासकाली गाउँपालिका पाल्पाका अध्यक्ष कृष्णप्रसाद बस्यालले विपन्न परिवारका विद्यार्थीहरुका लागि न्यानो कपडा सहयोग गर्दै आएका छन् । न्यानो कपडाले सहयोगापेक्षीहरुको जाडो छल्न महत्वपूर्ण टेवा पुग्दछ ।
बस्यालले विपन्न वर्गका विद्यार्थीहरुका लागि न्यानो कपडा सहयोग गर्दै प्रशंसनिय कार्य गर्दै आएका छन् । स्थानीय तहका अधिकांश जनप्रतिनिधिहरु निर्वाचनका बेला जनतासँग गरेका वाचाहरु फुलेर आफ्नै सुखसयलमा रमाउन तल्लिन भइरहेका बेला गाउँपालिकाका अध्यक्ष बस्यालले आफ्नो साझा विहानको छाक काटेर विपन्न बालबालिकाहरुका लागि सहयोग गर्नुले उनी धन्यवादका पात्र बनेका छन् । उनले केही दिन अघि व्यक्तिगत खर्चमा बगनासकाली गाउँपालिका ६ गुंगा माविमा अध्ययनरत ५७ बालबालिकाकाहरुलाई न्यानो कपडा वितरण गरेर विपन्न वर्गको मन जित्न सफल भएका छन् ।
अध्यक्ष बस्याल र सामाजिक व्यक्तित्व स्व.कमल कृष्ण कार्कीले विगत २ वर्ष अघि विपन्न विद्यार्थीहरुलाई न्यानो कपडा वितरण अभियान सञ्चालन गरेका थिए । कार्कीको निधनपछि पनि अध्यक्ष बस्यालले अभियानलाई अहिले पनि निरन्तरता दिएका हुन् । उनले विगतमा आफुले पाउँदै आएको तलव गाउँपालिकाको धार्मिक, शैक्षिक, पर्यटकीय, कृषि, गरिब, विपन्न, असाहय लगायतका क्षेत्रमा समेत सहयोग गरिसकेका छन् ।
उनी जस्तै अरुहरुले पनि पछिल्लो समयमा चिसोबाट बच्नका लागि विपन्न वर्गका बालबालिकाहरुका लागि न्यानो कपडा सहयोग गरी लोककल्याणकारी कार्यमा अघि बढेका छन् । यस्ता सहयोगी मनहरुबाट प्राप्त सहयोगले चिसोका कारण विद्यालय आउन नसक्ने विद्यार्थीलाई त राहत दिन्छ नै अभिभावकलाई पनि शिक्षाप्रतिको अभिरुची पनि बढाउने निश्चित छ । यसले अभावका कारण विद्यालय छाड्ने प्रवृत्तिलाई न्यूनिकरण गर्दै सबैका लागि शिक्षाको नारालाई सार्थक तुल्याउन सहयोग पुर्याउने छ ।