Shittalpati
पाल्पामा विहीबार थपिए ४९ संक्रमित

पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ४९ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४९ जनामा संक्रमण पुष्टि भएको हो । ३६ जनाको पीसीआर परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको हो । जसमा तानसेन नगरपालिकाका १८, माथागढी गाउँपालिकाका २, बगनासकाली गाउँपालिका, तिनाउ गाउँपालिका, रिक्दीकोट गाउँपालिकाका १÷१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै पिसिआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ६ सय २५ जना महिला र ४ हजार ७ जना पुरुष रहेका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा एन्टिजेन परीक्षणमा २६ जनामा संक्रमण देखिएको छ । ५७ जनामा परीक्षण गरिएकोमा २६ जनामा संक्रमण देखिएको हो । रैनादेवी छहरा गाउँपालिकाका ६, बगनासकाली गाउँपालिकाका ३ र तानसेन नगरपालिकाका १७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ४ हजार ३ सय ७४ पुगेको छ । जहाँ २ हजार २ सय ५५ जना महिला र २ हजार १ सय १९ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा १० जना संक्रमितले कोरोना जितेका छन् । रामपुरका ३, रैनादेवी छहरा,निस्दी, तानसेनका २÷२ जना र रिब्दीकोटका १ जना संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमणबाट निको हुनेहरुको संख्या १० हजार ५ सय १६ पुगेको छ । जसमा ४ हजार ६ सय ९७ महिला, ५ हजार ८ सय १९ जना पुरुष रहेका छन् ।

यहाँ अहिलेसम्म २ सय ५७ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८४ जना महिला र १ सय ७३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा छ । जिल्लामा अहिलेसम्म २ सय ३३ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये २ सय ३० जना होम आइसोलेसनमा रहेका छन् भने ३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update