कृष्ण पोखरेल
पाल्पा,जिल्लाको तिनाउ गाउँपालिकाले दश बेडको कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ । कोरोना सक्रमणको दर उच्च भएपछि गाउँपालिकाले कोभिड आईसोलेसन अस्पताल पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत , स्वास्थ्य शाखा प्रमुख, वडा अध्यक्ष, विभिन्न शाखा प्रमुखहरुको सहभागितामा बसेको बैठकले गाउँपालिका भित्र पनि संक्रमितहरुको दर दिनहुँ बढ्दै गएपछि १० बेडको कोभिड अस्पताल पुनः सञ्चालन गर्ने निर्णय गरेको हो । अस्पतालको लागि चाहिने बेड अक्सिन, औषधी तथा अन्य सरसमानहरु तयारी अवस्था राख्ने बैठकले निर्णय गरेको छ ।
कोभिड संक्रमणबाट गंभिर विरामी भएका व्यक्तिहरुलाई गाउँपालिकाकै कोभिड अस्पतालमा राख्न सकिने, गाउँपालिकाकै स्वास्थ्यकर्मीबाट दिनहुँ निगरानी गरिने गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तिमगरले बताए । जिल्ला कोभिड व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालय पाल्पाले कोभिड नियन्त्रणको लागि गरेका सबै निर्णयहरु कार्यान्वयन गर्ने बैठकले निर्यण गरेको अध्यक्ष घर्तीमगरले बताए । दोभान स्वास्थ्य चौकी दोभानमा दैनिक रुपमा निशुल्क रुपमा एन्टिजेन परीक्षण कार्यक्रम सञ्चालन गर्ने पालिका अध्यक्ष घर्तीले बताए । वडा वडामा सार्वजनिक सूचना मार्फत १२ बर्ष देखी माथि उमेरका सबै व्यक्तिहरुलाई कोभिड विरुद्धको खोप लगाउन अनुरोध गर्ने, वडा वडाबाट टोल टोलमा महिला स्वयसेविका परिचालन गरी खोप लगाएको नलगाएको अनुगमन गर्ने, सार्वजनिक संघ संस्था कार्यालयहरुका माक्स अनिवार्य गर्ने भौतिक दुरी कायम राखी सरकारी सेवा सञ्चालन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले बताए । गाउँपालिका भित्र र वडा वडामा सेवा लिन जाने सेवाग्राहीले अनिवार्य रुपमा खोप लगाएको हुनुपर्ने, विवाह, वर्तवन्ध, तथा मृत्यु संस्कारका कार्यक्रममा २५ जना भन्दा बढी व्यक्तिहरु सहभागी नगराउने, गाउँपालिका भित्रका होटल, रेष्टुरा, चिया पसलहरुमा भौतिक दुरी कायम राखी अनिवार्य माक्सको प्रयोग गरेर काम गर्न अनुरोध गर्ने गाउँपालिकाले जनाएको छ ।