पाल्पा, अग्रपंक्तिमा खटिएका जिल्लाका पत्रकारहरुले कोरोनाविरुद्धको बुस्टर (तेस्रो) डोजको खोप लगाएका छन् । संघीय सरकारमार्फत प्राप्त खोप जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा गत असारअगाडि दोस्रो मात्राको खोप लगाएका पत्रकारहरुलाई बुस्टर डोज दिइएको हो ।
बिहीबार नेपाल पत्रकार महासंघ पाल्पा शाखामा आवद्ध २५ जना पत्रकारले कोरोनाविरुद्धको बुस्टर डोजको खोप लगाएको महासंघका अध्यक्ष रेखिराम रानाले जानकारी दिए । शाखाको संयोजनमा पाल्पा अस्पताल,युनाइटेड मिसन अस्पतालमा कोरोना विरुद्धको तेस्रो खोप दिइएको हो ।
शुक्रबार र शनिबार पनि छुटेका पत्रकारहरुलाई सम्बन्धित स्थानीय तह वा आफुलाई पायक पर्ने स्थानमा खोपको व्यवस्था रहेको महासंघका अध्यक्ष रानाले बताए । खोप लगाउन आउँदा यसअघि दोस्रो मात्राको खोप लगाएको कार्ड सबैले अनिवार्य लिएर आउन महासघले आग्रह समेत गरेको छ ।
संघीय सरकारमार्फत प्राप्त खोप प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा देशैभर गत असारअगाडि दोस्रो मात्राको खोप लगाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रपंक्तिमा खटिनेलाई बुस्टर डोज दिन सुरु गरिएको छ ।