कल्पना भट्टराई
पाल्पा, देशभर कोरोना संक्रमणसँगै रुघाखोकीका बिरामी बढेपछि सिटामोल अभाव चुलिएको छ । तर, पाल्पामा भने ठूला अस्पतालहरुमा पर्याप्त र साना अस्पतालहरुमा भने अभाव रहेको पाइएको छ । यहाँका पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालका फार्मेसीहरुमा सिटामोल सहित अत्यावश्यक औषधि पर्याप्त रहे पनि साना केही मेडिकलहरुमा भने एक साता अघि देखि सिटामोल अभाव रहेको बताइएको हो । तानसेनका औषधि पसलहरुमा सिटामोल अभाव भएको व्यापक गुनासो आएपछि बुधबार प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तको नेतृत्वमा गरिएको अनुगमनका क्रममा यस्तो पाइएको हो ।
अनुगमनपछि एनजेडीसँगको कुराकानीमा प्रमुख जिल्ला अधिकारी पन्तले बजारमा आएको हल्ला जस्तो औषधि अभाव नरहेको बताएका छन् । उनले जिल्लाका ठूला अस्पताल पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा एक/डेढ महिनाका लागि पुग्ने जति सिटामोल मौज्दात रहेको बताए । अनुगमनका क्रममा केही साना फार्मेसीहरुमा औषधि सकिएको बताए पनि समग्र जिल्लामा अभाव नरहेको प्रजिअ पन्तको भनाई छ । स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाका स्वास्थ्य संस्थामा सिटामोलको अभाव नभएको जनाएको छ । स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीले निजी तथा सरकारी स्वास्थ्य संस्थामा सिटामोल अभाव नरहेको बताए । उनले ठूला अस्पतालहरुमा औषधि पर्याप्त रहेकाले सिटामोल अभाव नै भएको भन्न नमिल्ने बताए । बजारमा केही साना मेडिकलहरुमा तत्काल सिटामोल सकिएको भएपनि ठूला अस्पताहरुबाट परिपूर्त गर्न सकिने उनले एनजेडीलाई जानकारी दिए । यहाँका केही साना फार्मेसीहरुमा सिटामोल मौज्दात रहे पनि केहीमा मात्र अभाव रहेको प्रमुख गिरीले बताए । उनले भने ‘सिटामोल नभएका केही फार्मेसीहरुमा हामीहरुले तत्काल बुटवलका सप्लायर्ससँग समन्वय गरिदिएर समाधान गर्ने कोशिस गरेका छौं ।’ तानसेनका साना फार्मेसी सञ्चालकहरूले सिटामोलको माग धेरै भएको तर आपूर्ति भने शून्यजस्तै भएकाले अभाव भएको बताएका छन् । उनीहरुले अन्य औषधि सजिलै पाइएपनि सिटामोल भने सटेज भएको बताएका छन् ।
तानसेन बसपार्कमा रहेको टाउन क्लिनिकमा माग अनुसार सिटामोल पु¥याउन नसकेको बल बहादुर खाम्चाले बताए । सप्लायर्सबाट सिटामोल पर्याप्त माग गरे पनि सिमित मात्रमा आउने गरेकाले समस्या उत्पन्न भएको उनको भनाई छ । यस्तै गंगा मेडिकल हलमा पनि सिटामोल नभएको गंगा श्रेष्ठले बताइन् । उनले भनिन् ‘दैनिकजसो सय जनाभन्दा बढी सिटामोल खरिद गर्न आउनुहुन्छ तर सिटामोल नहुँदा निराश बनाएर पठाउनु पर्दा आफुलाई दुःख लागेको छ ।’ यस्तै संगम मेडिकल हलमा पनि सिटामोलको कमी भएको कमला शर्माले बताइन् ।