Shittalpati
पशुमा फैलिएका खोरेत रोग नियन्त्रणमा

रामपुर, पाल्पाको निस्दी गाउँपालिका–२ स्थित सुकेकोटमा पशुमा फैलिएको खोरेत रोग नियन्त्रणमा आएको छ । गाउँका करिब ३०० गाई, भैसी, बंगुर, बाख्रामा खोरेत रोग फैलिएको थियो ।

केन्द्रीय प्रयोगशालामा नमूना परीक्षण पश्चात उपचार सुरु गरेपछि अहिले संक्रमण कम हुँदै गएको निस्दी पशु शाखा प्रमुख ओमबहादुर मश्राङ्गीले बताए । सुकेकोट गाउँमा मात्रै तीन हप्ता अघिदेखि पोजेटिभ खोरेत रोगले सताएको थियो । खोरेत लागेका पशुमा रिङ भ्याक्सिङ दिइएको र अन्य संक्रमण नफैलिएका ४ सय ७० पशुलाई खोरेत विरुद्धको भ्याक्सिन दिइएको शाखा प्रमुख मश्राङ्गी बताए । उनी भन्छन् निरन्तरको उपचारले छिट्टै संक्रमण रोकियो, अहिले पूर्णरूपमा पशु निको नहुँदासम्म यस क्षेत्रमा पशु ओसार–पसारमा रोक लगाइएको छ । यहाँ तीन भैँसी, नौ बाख्रा र दुई बंगुर खोरेत रोग लागेर मरेका छन् । गाउँका १६ घरपरिवारको पशुमा खोरेत रोगले सताएको पशु शाखाले जनाएको छ । पोखराबाट गाउँमा पञ्चवली पूजाका लागि ल्याइएका भेँडाबाट संक्रमण फैलिएको पशु प्राविधिकको भनाइ छ । –रासस

प्रकाशित मिति: शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update