पुष्कर अथक रेग्मी
“तपाईको नाममा पक्राउ पुर्जी आएको छ, आफ्नो श्रीमानलाई खान लाउन नदिई घरबाट निकाल्नु भएछ त के हो ? तपाईको श्रीमान्ले मुद्दा हालेको छ । पुरुष हिंसा भयो भनेर ।” ‘पक्राउ पुर्जी’ शीर्षकबाट शुरु भएको लघुकथा संग्रह ‘फेसबुक आईडी’ ‘किरिया’ शीर्षकको चालिसौं लघुकथाको रुपमा समाप्त हुन्छ । सङग्रहभित्र पक्राउ पुर्जी, संस्कार, माइत, माया, दशैं खर्च, साहस, सीप, आशिर्वाद, छाडाकुरा, गलत निर्णय, नयाँ आईडी, मनोबल, के काम, सल्लाह, पुरानो कुरा, हतियार, समाजसेवा, पितृप्रसाद, अशंबण्डा, कमाइ, धर्म संस्कृति, चोट, कोरोना रिपोर्ट, परिवर्तनको नारा, महसुस, संकल्प, वाहियात, लक्षिनकी बुहारी, नारी दिवस, पछुतो, फेसबुक सम्बन्ध, चुनौती, भविष्य, पश्चाताप, संघर्ष, सुसाइट नोट, सोच छिमेकी, दान र किरिया शीर्षकका लघुकथाहरु संरचित छन् । “लघुकथा लेखनमा नारी हस्ताक्षर बढ्न नसकेको अवस्थामा विष्णु भण्डारीलाई लघुकथा कृतिकारका रुपमा पाउनु खुसीको विषय बनेको छ ।” भनी अग्रज कथाकार श्री ओम श्रेष्ठ ‘रोदन’ बताउँछन् ।
लघुकथाको विकास र विस्तारको अभियानमा भण्डारीले कलम चलाउँदै र विभिन्न सामाजिक संजाल मार्फत लघुकथाहरु सम्प्रेषण गर्दै आएकी छिन् । प्रकाशनको दृष्टिकोणले यो उनको दोस्रो पुस्तक लघुकथा सङग्रह हो । यस अघि पहिलो पुस्तकको रुपमा कविता सङग्रह मान्छेको भिडभित्र (२०७२) प्रकाशित भइसकेको छ । “फेसबुक आईडीमा आकस्मिक रुपले गवेषण गरे । आकस्मिक रुपले नै पढे र नजरिया लेखें। जिन्दगीको फेरमा कुनै आकस्मिकताले फेरि भेट गराउने हो वा होइन, त्यो थाहा छैन विष्णु । यो लघुकथा संग्रह भने अजेय छ ।” भनी खेमराज पोखरेल भूमिकामा लेख्छन् । फेसबुक आइडी भित्र आकस्मिकतामा लेखिएका थुप्रै प्रसङ्गहरु छन्, जुन हाम्रा दैनान्दिनीसँग मेल खान्छन् । हामीलाई लागेका छोएका कुराहरु लघुकथाको रुपमा उपस्थित भएका छन् । लघुकथाभित्र एउटा सिङ्गो समाज बसेको छ । “पछिल्ला समयहरुमा सम्वाद विहीन लघुकथाहरु पढ्ढा पढ्दै पाठकहरु वाक्क भएका छन् । तर विष्णुजीका लघुकथाहरु नाटकीय ढङ्गबाट अघि बढेका पाइन्छन् ।” भनी दिपक लोहरी लेख्छन् । पक्राउ पूर्जी, माइत, सीप, छाडाकुरा, चुनौती, साेंच आदि कथाहरुमा सशक्त्त सम्वाद भरिएका छन् ।
‘फेसबुक आईडी’ कथा सङग्रहको विषयवस्तु सामाजिक यर्थाथवादी रहेका छन् । पात्र/चरित्रहरुले कथामा न्यायनै गरेका छन् । परिवेश र संवाद कथोपकथनक गजबका छन् । संवादात्मक लघुकथाहरुमा विशेष दम भएको पाइन्छ । बालक, युवा, महिला र जेष्ठहरुका इच्छा, चाहाना, आकांक्षा र अभिलाषाहरु समेत लघुकथामा पाइन्छन् । व्यक्ति, घर, परिवार, समाज, समुदाय हुँदै समसामयिकता, धर्म, संस्कृति र संस्कारहरु समेटिएका लघुकथाहरु संरचनामा समेटिएका छन । नवीनता, स्थानियता, आकस्मिकता, सचेतना, संभाव्यता र हार्दिकता जस्ता वैशिष्टयताले ओतपोत भएका लघुकथाहरु पढ्दा पाठकहरुले आफैले देखेका, भोगेका, सुनेका र चाहेका विषयवस्तुहरुको प्राप्ति हुन्छ । बिष्णुका लघुकथाहरले पाठकहरुलाई बौद्धिक खुराक प्रदान गर्नुका साथै समाजलाई सचेतिकरण शिक्षा दिएको छ । शिक्षण पेशामा संलग्न रहनु भएकीे विष्णुजीको लघुकथाहरुमा परिपक्वता, कौतुहलता र विशिष्टता पाइएका छन् । पक्राउपुर्जी, छाडाकुरा, हतियार, समाजसेवा, चोट, पछुतो, पश्चाताप, छिमेकि सुसाइड नोट, दान यस संग्रह भित्रका उत्कृष्ट कथाहरु हुन । कथाहरुले अभिभावकीय भूुमिका निर्वाह गरेका छन् । मायापे्रम यौवन रहरका कुराहरुपनि शीलताका साथ प्रस्तुत भएका छन । आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनैतिक कुराहरुपनि लघुकथाभित्र समेटिएका छन् । आर्थिक, सामाजिक, सास्कृतिक एवं राजनैतिक कारणलेनै समाजलाई उभोँ या उधोँ लगाउने भएकोलेनै प्रतिनिधिमूलक कथाहरु महत्वपूर्ण रहेका छन् । कथाहरु पढ्दै जाँदा कति पनि झिजो लाग्दैन । सरर पढ्न सकिन्छ छाड्नै मन लाग्दैन । कथाको विज वाक्यलेनै मन छुन्छ । यहिनेर नै हुन्छ लघुकथाकारको जित । कथा संग्रह मननीय, महनीय, पठनीय, उदाहरणीय, समालोचनीय एवं सङ्ग्रहणीय रहेको छ । स्व.प्रेमबहादुर भण्डारी र स्व.चन्द्रकला भण्डारीको सुपुत्रीको रुपमा धनकुटा, चौविसे गाउँपालिकामा जन्म भई स्नातक उर्तीण गरी शिक्षण पेशामा सम्लग्न रहदै बेलवारी, मोरङमा बसोबास गर्दै आउनु भएकी नारी स्रष्टा विष्णु भण्डारीलाई मैले सामाजिक सञ्जालमा भेटेको हुँ र मिति २०७८ साल असार ७ गते यसै पंक्तिकारद्वारा परिकल्पना गरिएको लघुतम काव्य ‘शीत’को व्यापिकरण भएसँगै शीत लेखनको सिलसिलमा घनिष्ठता बढ्दै गएको हो । शीत काव्य समाज नेपालमा आवद्ध रही शीत लेखन प्रकाशन र सम्प्रेषण गर्दा गर्दै उहाँ हाल शीत काव्य समाज नेपाल प्रदेश नंं. १ को अध्यक्ष समेत रहनु भएको छ र शीत काव्यको व्यापीकरणमा लागि पर्नु भएको छ ।
भर्चुअल रुपमा भएको ‘फेसबुक आईडी’ को विमोचन एवं विमर्श कार्यक्रमा मैले पनि सहभागी हुने अवसर प्राप्त गरेको थिए । शीत काव्य समाज नेपालका सचिव, पत्रकार दामोदर ढकाल ‘दीपक’ मार्फत मैले कथा सङग्रह ‘फेसबुक आईडी’ प्राप्त गरे । पहिलो चोटि सरसर्ति एकै चोटिमा सबै कथाहरु पढे । केहि समयपछि दोस्रो चोटिपनि सुस्त सुस्त लघुकथा सङग्रहको ‘फेसबुक आईडी’ खोलेर हेर्दै, पढ्दै गर्दा प्राप्तिका आधारमा मनमा लागेका कुराहरु लेख्दै गएँ । अन्तत: सामाजिक यथार्थवादी आशावादी लधुकथाकारको रुपमा अवतरित हुन सफल नारी हस्ताक्षर विष्णु भण्डारीको आगामी दिन कथाख्यानमय बनिरहोस् । नेपाली लघुकथा साहित्यका सुधी पाठक वर्गमा लघुकथा संग्रह ‘फेसबुक आईडी’ समादृत हुनेछ भन्ने आशा र विश्वास लिएको छ ।