Shittalpati
नेपाली काँग्रेस गुल्मीले मनायो सहिदहरूको सम्झनामा दिवस

रमेश विश्वकर्मा
गुल्मी, नेपाली काँग्रेस गुल्मीले सहिदहरुको सम्झनामा सहिद दिवस मनाएको छ । मुलुको विभिन्न कालखण्डका राजनीतिक र सामाजिक आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने ज्ञातअज्ञात महान सहिदहरु प्रति श्रद्धासुमन अर्पण गर्दै सहिदहरुको सम्झना गरी यो दिवस मनाएको हो । नेपाली काँग्रेसको जिल्लास्थित पार्टी कार्यालय वीपी स्मृति भवन तम्घासमा रहेको सहिद शमसेरबहादुर खत्रीको शालिकमा पुष्पगुच्छाहरु अर्पण गर्दै सहिदहरुको सम्झना गरी मनाइएको थियो ।

नेपाली काँग्रेस जिल्ला सचिव भगतसिंह खड्काले सहिद दिवस नेपाली काँग्रेसको ऐतिहासिक विरासतसँग जोडिएकाले आफैमा ओजपूर्ण दिन भएको भन्दै नयाँ पिँढीलाई सन्देश प्रवाहका लागि पनि यो दिवस मनाइएको बताए । उनले सहिदहरुले दिएको बलिदानले नै स्वतन्त्रता, प्रजातन्त्र र आजको व्यवस्था आएको दावी गरे । नेपालको प्रथम सहिद लखन थापालाई तत्कालिन राणा प्रधानमन्त्री जंगबहादुर राणा विरुद्ध प्रचार–प्रसार गरेको आरोपमा वि.सं.१९३३ साल फाल्गुण २ मा गोरखाको मनकामना नजिकैको रुखमा झुण्डाएर मारिएको थियो । उनी तत्कालिन सैन्य पल्टनमा कार्यरत थिए । सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द ठाकुर र गंगालाल श्रेष्ठलाई पनि राणा शासनकै बेला मारिएको थियो । देशमा परिवर्तन ल्याउनका लागि भावी पुस्ता र देशको आयाम बदल्नका लागि आफ्नो ज्यान अर्पण गर्ने सहिदहरु प्रति यो दिनले विशेष महत्व राख्ने सहभागीहरुले जोड दिएका थिए । त्यस अवसरमा नेपाली काँग्रेस जिल्ला कार्य समितिका सहसचिव छविलाल पाण्डेय, सदस्यहरु अखिलेश्वरप्रसाद पाण्डे, उदयबहादुर थापा, कृष्णप्रसाद पोख्रेल, गंगादेवी पाण्डेय, विष्णुमाया विश्वकर्मा, क्षेत्रीय कोषाध्यक्ष तारा पौड्याल, प्रदेश प्रतिनिधि जमुना थापा, नेविसंका पूर्व केन्द्रीय सदस्य सुदर्शन खनाल, नेता निरोज मरासिनी, जिल्ला सभापति झविन्द्र पाण्डेय, सहसचिव रोशनसिंह ठकुरी, रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्वइकाई सभापति अर्जुन पोख्रेल लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

प्रकाशित मिति: सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update