कृष्ण पोखरेल
पाल्पा, आमा र बच्चाको ज्यानलाई पूर्ण सुरक्षित राख्न पाल्पाको रम्भा गाउँपालिकाले पालिका भित्रका सबै गर्भवती महिलाहरुलाई स्वास्थ्य संस्थासम्म आउँ–जाउँको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ । सबै गर्भवती महिलाहरु लाई सुरक्षित रुपमा स्वास्थ्य संस्थाहरु पुर्याई सुत्केरी गराई आमा र बच्चाको जीवनलाई सुरक्षित बनाउन रम्भा गाउँपालिकाले गर्भवती महिलाहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको हो । चालु आर्थिक वर्षबाट शुरु भएको महिला सुत्केरी एम्बुलेन्स सेवाबाट मंसिर महिना सम्म ९८ जना गर्भवती महिलाले सेवा लिएका छन् ।
गाउँपालिकाले पालिका भित्रका सबै वडाहरुमा नर्स सहितको २४ सै घण्टाको बर्थिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । पालिका भित्रकै स्वास्थ्य संस्था व्यवस्थित र क्रियासिल बनाउन गाउँपालिकाले पालिकाभित्रकै स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई आतेजाते दुवै तर्फको एम्बुलेन्स सेवा प्रदान गर्दै आएको छ भने भने पालिका बाहिरको स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको लागि एकतर्फी एम्बुलेन्स सेवाको सुविधा दिदै आएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । रम्भा गाउँपालिकामा पूर्ण संस्थागत सुत्केरी घोषणा भइसकेपछि ३ वर्षको अवधिमा गाउँमा सुत्केरी भएको एक बर्ष सम्म कुनै आमा र बच्चाको मृत्यु नभएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख शिव अर्यालले बताए ।
आर्थिक वर्ष २०७६/०७७ मा ३ सय ६ जना, ०७७/०७८ मा ३ सय १ जना महिला सुत्केरी भएका छन् । पालिकाका सबै स्वास्थ्य संस्थामा बर्थि· सेन्टर उच्चस्तरीय बनाउँदै विगत ४ वर्षदेखि नै सबै स्वास्थ्य संस्थामा उच्चस्तरीय निःशुल्क ल्याव सेवा सञ्चालनमा रहेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी आमाको लागि संघीय सरकारबाट २ हजार, ४ पटक गर्भजाँच गराउने महिलालाई थप ८ सय रुपैयाँ र गाउँपालिकाबाट सुत्केरी आमा पोषण कार्यक्रमबाट १ हजार ५ सय रुपैयाँ गरी ४ हजार ३ सय रुपैयाँ सहयोग प्रदान गर्दै आएको छ । सुत्केरी आमा र शिशु बच्चाको स्वास्थ्यलाई ध्यानमा सुत्केरी भएको ३ दिन र ७ दिनमा नर्स सहितको सेवा प्रदान गर्दै आएको स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले बताए ।
गाउँपालिकाले प्राथमिक स्वास्थ्य उपचार केन्द्र ताहुँबाट, स्वास्थ्य चौकी हुँगी र स्वास्थ्य चौकी पिपलडाँडाबाट गर्भवती महिलाहरुको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले अन्य दुई वडा हुमिन र फोक्सिङ्ग कोट स्वास्थ्य चौकीमा पनि एम्वुलेन्स सेवा सञ्चालनको तयारी गरेको छ । गाउँपालिकाले आमा र बच्चाको जीवनलाई सुरक्षित बनाउन, आमा सुरक्षा न्यानो झोला वितरण, गर्भवतीको घरमा हरियो झण्डा राख्ने, स्वास्थ्य संस्थाबाट सुत्केरी हुने समय नजिकै गर्दा निरन्तर निगरानी बढाउने, सुत्केरी हुने मिति तोकिएका गर्भवती महिलाहरुको लागि घर–घरमै स्वास्थ्यकर्मी पठाई निगरानी गर्दै आएको छ । ४ पटकको गर्भजाँचमा गर्भवती महिला तथा अविभावकलाई पोषण, सुरक्षा तथा तयारीका विषयमा स्वास्थ्य संस्थाले तालिम परामर्श सचेतना कार्यक्रम नियमित गर्दै आएको उपाध्यक्ष राधा कुमारी श्रेष्ठले बताइन् ।
अधिकांश रोगहरु पहिचानको लागि विभिन्न किसिमको ल्याव परिक्षण गर्नुपर्ने भएकोले पालिकाले सबै वडाका स्वास्थ्य चौकीहरुमा निःशुल्क ल्याव परिक्षण सेवा सञ्चालन गर्दै आएका छन् । ३ वटा स्वास्थ्य संस्थामा डिजिटल एनालाइजर प्रविधिबाट ल्याव सेवा संचालन गर्दै आएको छ भने वडा ३ पिपलडाँडा, वडा २ फोक्सिङ्गकोटमा एनालाईजर ल्याव सेवा थप्ने अन्तिम तयारीमा गाउँपालिका अध्यक्ष भण्डारीले बताए । गाउँपालिकाले वडा ५ ताहु, वडा १ हुँगीमा मेडिकल अधिकृत चिकित्सक सहितको सेवा सञ्चालन गर्दै आएको छ भने प्रत्येक वडामा एक/एक वटा गरी पाँच वटा स्वास्थ्य इकाई र एक वटा आर्युवेदिक औषधालय थप गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले बताए ।
सबै स्वास्थ्य संस्थाहरुमा केन्द्र तथा प्रदेश संरचनाबाट कमी भएका जनशक्तिहरु गाउँपालिकाल करारमा नियुक्त गरी स्वास्थय सेवा सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएपछि शुरु गरेको निःशुल्क ल्याव सेवाबाट आ.व. २०७४/०७५ मा १ हजार २ सय ३८ जना, आ.व.२०७५/०७६, मा २ हजार ४४ जना, आ.व. २०७६/०७७ मा ५ हजार १२ जना, आ.व. ०७७/०७८ मा ६ हजार ५ सय २ जना र चालु आ.व.मा ३ हजार ४ सय १ जनाले निःशुल्क ल्याव सेवा लिएको स्वास्थ्य शाखा प्रमुख अर्यालले बताए । पालिकाले दिर्घरोगी सुगर, ब्लड प्रेसर, कोलेष्टोर, मुटुरोगीहरु तथा बृद्ध बृद्धाहरुलाई निःशुल्क रुपमा घर–घरमै औषधी सेवा प्रदान गर्दै आएको छ । कोभिड लकडाउनको समयमा नियमित औषधी सेवन गर्दै आएका सबै किसिमका दिर्घरोगीहरुलाई वडा–वडाबाटै औषधी खरिद गरी घरघरमै पुर्याउँदै आएको थियो । कोभिडको समयमा १ हजार ६ सय ७३ जना दिर्घरोगीलाई घर–घरमै औषधी सेवा दिएको गाउँपालिकाले जनाएको छ ।