Shittalpati
संक्रमणमुक्त हुने दर बढ्न थाल्यो

पाल्पा, पछिल्ला केही दिन यता कोरोना संक्रमणमुक्त हुनेको दर बढ्न थालेको छ । संक्रमणको दर नघटेपनि संक्रमणमुक्त हुनेको दर भने बढ्न थालेको हो । बुधबार पनि नेपालमा कोरोना भाइरस संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या दोब्बर रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा सात हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.संगीता कौशल मिश्राले ११ हजार ५ सय ८२ परीक्षण गर्दा तीन हजार ६ सय ३७ संक्रमित पुष्टि भएको जानकारी दिइन ।

यस्तै संक्रमणमुक्त हुने संख्या सात हजार ५ सय ५५ पुगेको उनले बताइन । योसँगै आठ लाख ७८ हजार ७ सय २० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ६९ हजार २ सय ९१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १२ जनाको निधन भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ७ सय ६४ पुगेको छ । नेपालमा संक्रमण दर १८.३ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ६७ हजार ८ सय २५, संस्थागत आइसोलेसनमा एक हजार ४ सय ६६, सघन उपचार कक्षमा २ सय ७० र भेन्टिलेटरमा ५२ जनाको उपचार हुँदैछ । संक्रमणमुक्त हुनेको दर बढ्न थालेपछि भने अवस्था केही सहज हुन थालेको छ । एघार दिनअघि माघ ६ गते एकैदिन १२ हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि एकखालको त्रास फैलिएको थियो । हुनपनि ओमिक्रोन भेरिएन्टको तीव्र फैलावटका कारण खोप लगाएका वयस्कसमेत संक्रमित भइरहेका थिए । दोस्रो लहरजस्तै अवस्था भयावह हुने त होइन भन्ने आकलनसमेत विज्ञहरुले गरेका थिए । तर पछिल्लो सात दिनयता स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने तथ्यांक हेर्दा भने संक्रमितको संख्या घट्ने क्रममा रहेको देखिन थालेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update