रामचन्द्र रायमाझी
पाल्पा, सरकारले अस्पताल नभएका सबै स्थानीय तहमा पाँचदेखि १५ शैयासम्मका आधारभूत अस्पताल निर्माण गर्ने महत्वाकांक्षी योजना अगाडि बढाए पनि जिल्लातहमा सञ्चालित अस्पतालमा जनशक्ति पुर्याउने तथा भौतिक संरचना बनाउनेतर्फ भने ध्यान दिएको छैन ।
पाल्पाको रामपुरमा सञ्चालित रामपुर अस्पतालमा सरकारी दरबन्दीका एकजना पनि विशेषज्ञ डाक्टर छैनन् । जब कि ९ जना विशेषज्ञ डाक्टरको दरबन्दी छ । २०७२ सालमा ९ जना विशेषज्ञ सहित डाक्टरको दरवन्दी कायम गरे पनि अहिलेसम्म एक जना पनि स्थायी छैनन् । अस्पतालले भने एक जना विशेषज्ञ करारमा नियुक्त गरेको छ । ६ वर्ष हुँदा समेत अस्पतालले दरवन्दी अनुसार डाक्टर नपाउँदा विरामीको उपचारमा समस्या उत्पन्न भएको छ । अस्पतालले भर्खरै एक जना विशेषज्ञ करारमा लिएर शल्यक्रिया सेवा सुरु गर्न थालेको छ । लामो समयसम्म शल्यक्रिया सेवा समेत बन्द रहेको थियो । हाल अस्पतालमा स्थायी र करार गरी विभिन्न विभागमा ७२ कर्मचारी छन् । अस्पतालमा ५९ स्थायी दरबन्दी रहनुपर्ने भए पनि चार मेडिकल सुपरिटेन्डेन्ट तथा एक/एक रेडियोलोजिस्ट, लेखापाल, स्टाफनर्स रहेका छन् ।
अस्पतालले अन्य कर्मचारी करारमा नियुक्त गरी सेवा दिइरहेको छ । सरकारी उच्चपदस्थ कर्मचारी, सरकारका मन्त्रीहरु अस्पताल पुगी अवस्था बुझेर डाक्टर तत्काल पठाउने आश्वासन दिएर पनि डाक्टर अहिले सम्म आउन सकेका छैनन् । डाक्टरको दरबन्दी मात्र कायम गरिदा गण्डकीबेशीका हजारौ जनताले उपचारको नाममा सास्ती खेप्नु परेको छ । गत बर्ष लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालसंँग अस्पतालको समस्या राखेको र उनीबाट यथासक्य डाक्टर पठाउने आश्वासन पाए पनि अहिलेसम्म डाक्टर आउन नसकेको अस्पतालका प्रशासन प्रमुख हिराबहादुर विश्वकर्मा बताउँछन् । उनी भन्छन् ‘यहाँका माननीय दलबहादुर रानादेखि उच्चपदस्त नेताहरुसमक्ष समस्या राखियो तर आश्वासन बाहेक केही पाइएन ।’ अस्पतालमा दरबन्दी अनुसारका विशेषज्ञ डाक्टर कम भए पनि उपचार सेवा भने भरपर्दाे नै रहेको अस्पतालका प्रशासन प्रमुख वि.क बताउँछन् । ‘हामी सेवामा प्रतिबद्ध छौं’, उनले भने, ‘अहिले हामीसँग दक्ष जनशक्तिको अभाव छ यसका लागि सम्बन्धित निकायसँग पहल गर्ने काम भइरहेको छ ।’ उनले दरबन्दीअनुसारका डाक्टर नहुँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता रहेको बताए । उनका अनुसार प्रसुति, शिशुको उपचार सेवा, रेडियोलोजिस्ट (एक्सरे), जनरल फिजिसियन, एनस्थेसियोलोजिस्ट, कन्सल्टट्यान्ट अर्थोसर्जन, कन्सल्टट्यान्ट सर्जन, कन्सल्टट्यान्ट साइक्याट्रिक्स जस्ता विशेषज्ञ सेवा तोकिए पनि दरबन्दीअनुसारका चिकित्सक अभावमा सो सेवा दिन सकिएको छैन । दरबन्दी अनुरुप डाक्टर नहुँदा यस क्षेत्रका जनता उपचारको क्रममा तानसेन, पोखरा, बुटवल, काठमाडौं सम्म जानुपरेको स्थानीयहरुको गुनासो छ । अस्पतालमा ५० शैयाको क्षमता भए पनि विशेषज्ञ सेवा नै छैन । यो अस्पतालमा यस क्षेत्रका मात्र नभई जिल्लाको पूर्वी क्षेत्र स्याङ्गजा, तनहुँ, नवलपरासीबाट दैनिक सयौंको संख्यामा बिरामीहरु उपचारको लागि आउने गर्दछन् । तर विशेषज्ञ सेवा दिने डाक्टर नै नभएपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यता छ । अस्पतालमा विशेषज्ञ सेवाको लागि पटक पटक स्थानीय सरकारको तर्फबाट संघीय, प्रदेश सरकार समक्ष लिखित मौखिक रुपमा पहल गरेको भएपनि अहिले दुवै तहका सरकारबाट मौखिक आश्वासन बाहेक केहि नपाएको रामपुर नगर प्रमुख रमण बहादुर थापाले बताए ।