Shittalpati
पाल्पामा कोरोना संक्रमणमुक्त हुने बढे, विहीबार  मात्रै १ सय ५७ जना निको

पाल्पा, पाल्पामा कोरोना संक्रमितबाट निको हुनेको संख्या दैनिक बढ्दै गएको छ । यहाँ विहीबार १ सय ५७ जना संक्रमित निको भएर घर फर्किंदा ५० जना संक्रमित भएका छन् । यस्तै, बुधबार ५६ जना निको भएका थिए ।

विहीबार आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ८९ जना महिला र ६८ जना पुरुष संक्रमित कोरोना संक्रमणमुक्त भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ७८, बगनासकाली गाउँपालिकाका २५, रैनादेवी छहरा गाउँपालिकाका १५, रामपुर नगरपालिकाका १४, पूर्वखोला गाउँपालिकाका ९,रिब्दीकोट गाउँपालिकाका ७, रम्भा गाउँपालिकाका ५, माथागढी गाउँपालिकाका र तिनाउ गाउँपालिकाका २/२ जना संक्रमितले कोरोना जितेको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार १ सय १० पुगेको छ । जसमा ४ हजार ९ सय ७७ महिला र ६ हजार १ सय ३३ जना पुरुष रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ५० जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । १४ जनाको पीसीआर परीक्षण गरिएकोमा १० जनामा संक्रमण पुष्टि भएको छ । जसमा तानसेनका ७, रामपुर, तिनाउ रिब्दीकोटका १/१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पीसीआर परीक्षण गर्दा जिल्लामा अहिलेसम्म ६ हजार ९ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये २ हजार ७ सय ६२ जना महिला र ४ हजार १ सय ४४ जना पुरुष रहेका छन् ।

यस्तै, एन्टिजेन परीक्षणमा ४० जनामा संक्रमण देखिएको छ । ९२ जनामा परीक्षण गरिएकोमा ४० जनामा संक्रमण देखिएको हो । तानसेनका १३, रैनादेवी छहराका १७, बगनासकालीका ४,पूर्वखोलाका ३, रामपुर, रम्भा, तिनाउका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार १ सय ३८ पुगेको छ । जहाँ २ हजार ६ सय ४४ जना महिला र २ हजार ४ सय ९४ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यहाँ अहिलेसम्म २ सय ६३ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८७ जना महिला र १ सय ७६ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म ६ सय ७१ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ६ सय ६० जना होम आइसोलेसनमा रहेका छन् भने ११ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update