पाल्पा, ‘उपचारको खाडललाई बन्द गराऊ’ भन्ने नाराका साथ आज विभिन्न चेतनामूलक कार्यक्रम गरी विश्व क्यान्सर दिवस मनाइँदैछ । सुरुमै क्यान्सर रोगको उपचार भएमा बिरामी पूर्णरुपमा निको हुने भएकाले यसबारे सर्वसाधारणमा जनचेतना बढाउन हरेक वर्षको फेब्रुअरी ४ मा यो दिवस मनाइँदै आइएको हो ।
क्यान्सर लागेमा निको हुँदैन भन्ने धारणा आम मानव समुदायमा रहेकोमा रोग लागेको छोटो समयमा उपचार थालीयो भने रोकथाम गर्न सकिन्छ भनेर सचेत पार्नको लागि पनि सचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ । क्यान्सर रोगको निवारणका लागि सक्रिय विभिन्न सरोकारवाला संस्था एवं निकायले क्यान्सरबाट हुने मृत्युलाई कम गर्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउन लागेका छन् । कोरोना संक्रमण कायमै रहे पनि न्यून उपस्थितीमा औपचारिक कार्यक्रम हुन लागेका छन् ।
नेपालमा सुर्तीजन्य वस्तुको सेवनका कारण हरेक वर्ष क्यान्सरका विरामी बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । सुर्तीजन्य वस्तुको सेवन गर्नेको संख्या बढ्दै गएकाले क्यान्सरको जोखिम पनि बढ्दै गएको उनीहरुको भनाइ छ । खानपानमा ध्यान दिन सके पनि ४० प्रतिशतले क्यान्सर रोगको जोखिम कम हुने विश्व स्वास्थ्य संगठनले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । विश्वको तथ्यांक हेर्दा एक वर्षमा झण्डै करोड लाख मानिसलाई क्यान्सर रोग लाग्ने गरेको छ । त्यसमध्ये करिब ९० लाख मानिसको क्यान्सरबाटै मृत्यु हुने गरेको छ । नेपालमा चिकित्सकहरूले बर्सेनि करिब ४० हजार मानिसमा क्यान्सर लाग्ने अनुमान गरेका छन् । तीमध्ये २० हजारको मृत्यु हुने गरेको छ । नेपालमा करिब ७० हजार क्यान्सरका बिरामी रहेको अनुमान छ ।
नेपालमा फोक्सो, आन्द्रा, पेट, स्तन, पाठेघरको मुख र डिम्बासयको क्यान्सरका बिरामी धेरै छन् । प्रारम्भिक चरणमा नै उपचार गरे क्यान्सर निको हुन्छ । चुरोट र सूर्तीजन्य पदार्थ सेवन गरेमा क्यान्सर लाग्ने खतरा धेरै हुने चिकित्सकहरु बताउँछन् । क्यान्सर लागेर ज्यान गुमाउनेमध्ये अधिकांश धुमपानका कारण भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । विकसित राष्ट्रमा भन्दा विकासोन्मुख देशमा क्यान्सरका बिरामी बढ्दै गएको संगठनले जनाएको छ । –प्रशिक्षार्थी पत्रकार मोहन मिधुन