Shittalpati
बगनासकालीका गाउँ–गाउँमा बर्थिङ सेन्टर

कृष्ण पोखरेल
पाल्पा, सदरमुकाममा मात्र सिमित रहेको बर्थिङ सेन्टरको सुविधा (गर्भवती महिला लाई तालिम प्राप्त स्वास्थ्यकर्मीको सहयोगमा सुत्केरी गराउने स्थान) अहिले जिल्लाको बगनासकालीका गाउँ गाउँमा पुगेको छ । गाउँ–गाउँमा बर्थिङ सेन्टर सञ्चालनमा आएपछी गर्भवती महिलाहरु बच्चा जन्माउन सदरमुकाम जानु पर्ने बाध्यता हटेको छ । बगनासकाली गाउँपालिकाले वडा नंं. ७ खानीगाउँमा सुविधा सम्पन्न दक्ष तालिम प्राप्त स्वास्थ्यकर्मी सहितको बर्थिङ सेवा शुरु गरेको छ । खानीगाउँ बर्थिङ सेन्टरको गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले शुभारम्भ गरी सञ्चालनमा आएको छ ।

गाउँपालिको वडा – ९ चापपानी, वडा – ४ खानीछाप, वडा –३ नायरनमतलेसमा बर्थिङ सेन्टर सञ्चालन गरी सेवा दिदै आइएको छ । ९ वटा वडा रहेको बगनासकाली गाउँपालिकाले फागुन महिना भित्रमा वडा –५ दर्लामडाँडा र वडा–६ यम्घामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने तयारीमा जुटेको छ भने अन्य ३ वडा, वडा –१ चिर्तुङधारा, वडा– २ पोखराथोक र वडा –८ बराङ्दीमा बर्थिङ सेन्टर सञ्चालनका लागि भवन निर्माण भईरहेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । गाउँपालिका अध्यक्ष बस्यालले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन गाउँपालिकाले कुनै कसुर बाँकी नराखेको बताए । गाउँ–गाउँमा बर्थिङ सेन्टर सञ्चालनले गाउँमै गुणएस्तरीय स्वाथ्य सेवा जनताले पाएको, समय र पैसाको बचत भएको गाउँपालिका अध्यक्ष बस्यालले बताए । गाउँपालिकामा २ बर्षको अवधिमा कुनै पनि गर्भवती महिला र नवजात शिसुको मृत्यु नभएकाले गाउँपालिकाको लागि राम्रो सूचक भएको गाउँपालिका अध्यक्ष बस्यालले बताए । बर्थिङ सेन्टर शुभारम्भ कार्यक्रममा नेकपा एमाले बगनासकालीका अध्यक्ष हरि पाठकले गाउँपालिकाको एक वडा एक बर्थिङ सेन्टर सञ्चालन अभियानले जनताले घरदैलोमा गर्भवतीको सुत्केरी सेवा पाएको बताए । स्वास्थ्य सेवालाई सहज सजिलो बनाउन साविकका वडा–वडामा स्वास्थ्य ईकाइहरु सञ्चालन गर्नुपर्ने एमाले गाउँपालिकाका अध्यक्ष पाठकले जोड दिए ।

एक वर्ष अगाडि नै सञ्चालनमा आएको खानिगाउँ स्वास्थ्य चौकीमा तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्थापन भएपछी बर्थिङ सेन्टर सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार बर्थिङ सेन्टरमा तालिम प्राप्त स्वास्थ्यकर्मीको २४ घण्टे सेवाको साथै गुणस्तरीय प्रविधि प्रयोग गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले घरछेउको प्रसुती केन्द्र छाडेर सदरमुकाम जान नपर्ने भन्दै, दक्ष स्वास्थ्यकर्मी र प्रविधिको प्रयोग गर्न जनतालाई आग्रह गरिन । गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत विष्णु बहादुर घर्तीले वडा वडामा बर्थिङ सेन्टर सञ्चालन गर्ने, टोल टोलमा स्वास्थ्य ईकाई, घर घरमा स्वयसेवीका परिचालन गरेर सबै किसिमको स्वास्थ्य सूचकहरुलाई बलियो बनाउने गरी कार्यक्रम ल्याएको बताए । गाउँपालिकाले स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई १ हजार ५ सय पोषण खर्च र २ हजार ८ सय रुपैयाँ यातायात खर्च उपलब्ध गराउँदै आएको प्रमुख प्रशासकिय अधिकृत घर्तिले जनाकारी दिए ।

गाउँपालिका भित्र गत आर्थिक २०७७/०७८ मा ३ सय १७ जना सुत्केरी भएको र सबै सुत्केरी स्वास्थ्य संस्थाभित्र मात्र भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणिप्रसाद अधिकारीले बतााए । गर्भवती महिला र पेटभित्रको बच्चालाई सुरक्षित राख्न गर्भवती महिलाको परिवारलाई समेत राखेर नियमित रुपमा परामर्श गर्दै आएको, घर–घरमा समेत स्वयसेवीका परिचालन गरिएको स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए । गाउँपालिकाले २०७६ साल मंसिर ४ गते गाउँपालिकालाई पूर्ण संस्थागत सुत्केरी भएको गाउँपालिका घोषणा गरिसकेको छ । पूर्ण संस्थागत गाउँपालिका घोषणा भएपछी हाल सम्म कुनै सुत्केरी महिला र नवजात शिशुको मृत्यु नभएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, माघ २२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update