पाल्पा, तानसेनमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोध गरिने भएको छ । सरकारले एमसीसी पास गर्ने तयारी गर्न थालेपछि तानसेनमा संयुक्त विरोध प्रदर्शन हुन लागेको हो ।
शनिबार तानसेनमा बसेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा ईन्चार्ज अपेक्षा, राष्ट्रिय जनमोर्चा नेपाल पाल्पा जिल्ला अध्यक्ष विशाल दर्लामी, नेकपा क्रान्तिकारी माओवादी जिल्ला सचिव लिला श्रेष्ठ सहितको नेतृत्वमा बसेको तीन दलको संयुक्त बैठकले यही माघ २६ गते तानसेनमा विरोध प्रदर्शन गर्ने निर्यण गरेको छ । एमसीसी सम्झौता राष्ट्रघाती भएको र उक्त सम्झौताका केही बुँदाहरु नेपाल सरकारसँंग समान्तर देखिने भएको हुँदा उक्त सम्झौता नेपालमा ल्याउनु ठूलो घात हुने उनीहरुले बताउदै आएका छन् । बैंठकमा उक्त सम्झौताका नाममा अमेरिकाले आफ्नो स्वार्थसिद्ध गर्न लागिरहेकाले सो सम्झौता ल्याउन र पास गर्न नहुने बताइएको छ । यस अघि उक्त सम्झौताका विरुद्धमा पटकपटक तानसेनमा विरोध प्रदर्शन हुँदै आएको छ ।