पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ७३ जना संक्रमित कोरोनामुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २८ जना महिला र ४५ जना पुरुष संक्रमित कोरोनामुक्त भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ४४, पूर्वखोला गाउँपालिकाका ९,रामपुर नगरपालिकाका ७, बगनासकाली गाउँपालिका, रम्भा गाउँपालिकाका ४/४, रैनादेवी छहरा गाउँपालिका, माथागढी गाउँपालिकाका, २/२ र रिब्दीकोट गाउँपालिकाका १ जना संक्रमितले कोरोना जितेको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार ५ सय ७० पुगेको छ । जसमा ५ हजार १ सय ९४ महिला र ६ हजार ३ सय ७६ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । ५ जनाको एन्टिजेन परीक्षणमा २ जनामा संक्रमण देखिएको छ । तानसेन र रम्भाका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार २ सय १० पुगेको छ । जहाँ २ हजार ६ सय ८५ जना महिला र २ हजार ५ सय २५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ५ जनाको पीसीआर परीक्षण गरिएकोमा भने एक जनामा पनि संक्रमण देखिएन । यहाँ अहिलेसम्म २ सय ६४ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८७ जना महिला र १ सय ७७ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म ३ सय २५ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ३ सय १८ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।