Shittalpati
रुद्रवेणीधाममा रहेको आश्रममा स्वास्थ्य शिविर

गुल्मी, स्वास्थ्य कार्यालय गुल्मीले गुल्मीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा स्वास्थ्य शिविर संचालन गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर १ मा रहेको श्रीराम मन्दिर तार्केश्वर परमानन्द सन्यास आश्रम रुद्रबेणीधाममा स्वास्थ्य कार्यालय गुल्मीले प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको उपस्थितिमा स्वास्थ्य शिविर संचालन गरेको हो ।

स्वास्थ्य शिविरमा ४१ जनाको मधुमेह चेकजाँच, २ जनाको क्षयरोग चेकजाँच, २५ जनाको कोभिड–१९ परिक्षण गरिएको छ । जसमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका ल्याब टेक्निसियन सुमन सापकोटाले जानकारी दिए । शिविरमा २१ प्रकारका औषधीहरु आश्रमलाई उपलब्ध गराइएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले स्वास्थ्य कार्यालय गुल्मीलाई धन्यवाद दिए । जनताको आवश्यकताको आधारमा सेवा र सुविधा उपलब्ध गराउनुपर्ने उनले बताएका थिए । ज्येष्ठ नागरिकको लागि महत्वपूर्ण र संवेदनशील कुरा स्वास्थ्य भएकोले स्वास्थ्य उपचारको लागि स्वास्थ्य कार्यालयसहित आफूहरू पुगेको उनले बताए । आश्रममा बस्नेहरुका केही समस्या भएमा व्यवस्थापन समिति मार्फत जानकारी गराएमा सहयोग हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।स्वास्थ्य शिविरमा स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले आश्रममा स्वास्थ्यउपचारको केही समस्या प्रमुख जिल्ला अधिकारी मार्फत जानकारी पाएकोले शिविरको रुपमा आफूहरु पुगेको बताएका थिए । स्वास्थ्य सम्बन्धि केही समस्या भएका स्वास्थ्य कार्यालयमा जानकारी गराउन उक्त आश्रमका व्यवस्थापन समितिलाई आग्रह गरे ।

उक्त आश्रममा अहिले ४५ जना वृद्धवृद्धाहरु रहेका छन् । अधिकांश गुल्मीमा त्यसपछि स्याङ्जा, पाल्पा र रुपन्देहीका ४५ देखि ९९ वर्षसम्मका वृद्धवृद्धाहरु रहेको श्रीराम मन्दिर तार्केश्वर परमानन्द सन्यास आश्रम रुद्रबेणीधाम व्यवस्थापन समितिका उपाध्यक्ष बलराम अधिकारले जानकारी दिए । आश्रममा ६ जना पुरुष र ३९ जना महिला रहेका छन् । उक्त आश्रम वि.सं. १९८२ मा स्थापना भएको थियो । सोही समयमा सन्त तार्केश्वर डण्डी श्यामीले स्थापना गरेको बताइएको छ । आश्रममा वृद्धवृद्धाको सामान्य उपचारको लागि २० वर्षदेखि मेडिकल समेत संचालनमा रहेको छ । जसमा प्रदेश सरकारको सहयोगमा अनमी कमला भुसाल कार्यरत छिन् ।रुद्रबेणीधाम विश्वमै पहिलो ४० हजार शालीग्राम रहेको क्षेत्र भएको आश्रम व्यवस्थापन समिति उपाध्यक्ष अधिकारीले बताए । शालिग्रामलाई बिशाल बनाउने योजना रहेको उनले बताए । उक्त आश्रममा जूनसुकै स्थानका पनि वृद्धावृद्धाहरु पनि त्यहाँ बस्न पाउँछन् ।स्थानीय सरकारको पनि निरन्तर सहयोग रहेको व्यवस्थापन समितिले जनाएको छ । आश्रममा सुविधासम्पन्न कोठा १० वटा रहेका छन् । ४५ वटा सामान्य कोठा छन् । भने, यस आश्रममा बस्न आउने करिब १ सय जनालाई निशुल्क खाना र बस्ने सुविधा रहेको छ ब । जन्मदिन, वैवाहिक बर्षगाँठ लगायतमा अवसरमा धेरै मानिसले त्यहाँ खाना लिएर पुग्ने गर्दछन् । स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा कोभिड–१९ परिक्षण एवं स्वास्थ्य सचेतना कार्यक्रम तथा घुम्ती शिविरमा मंगलबार प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी हरी प्रसाद गैरे, स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्य लगायत अन्यको उपस्थिति रहेको थियो। स्वास्थ्य कार्यालय गुल्मीले यसअघि पनि विभिन्न स्थानीय तहमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update