रामपुर, जिल्लाको पूर्वखोला गाउँपालिकाले घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । यहाँका ७० वर्ष माथिका नागरिकको घर–घरमा पुगेर स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिने गरिएको छ । प्रदेश सरकार र पूर्वखोला गाउँपालिकाको सहयोगमा स्वास्थ्य परीक्षण थालिएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए ।
गाउँपालिकामा बसोबास गर्ने ७० वर्ष उमेर पुगेका एक हजार तीन जना जेष्ठ नागरिक र ४९ जना फरक क्षमता (अपाङ्गता) भएकाको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम रहेको छ । यो अभियान फागुन ८ सम्म सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । परीक्षणका क्रममा उनीहरुको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिएर आवश्यक परामर्श, खानपान र स्याहारका सम्बन्धमा जानकारी दिने, सामान्य उपचार, आँखा र कानको परीक्षणसहित नौ क्षेत्रमा रहेर स्वास्थ्य परीक्षण गरिनेछ । अघिल्ला वर्षमा ८४ वर्ष माथिका जेष्ठ नागरिकको घरमै पुगेर स्वास्थ्य परीक्षण गरिएको थियो भने यसवर्ष ७० वर्ष माथिका नागरिकको स्वास्थ्य परीक्षणसहित ८० वर्ष माथिका नागरिकलाई पौष्टिक आहार र कम्बल वितरण कार्यक्रम रहेको छ । पहिलो दिन पूर्वखोला–३ रिङ्नेरह बस्ने ९८ वर्षीय लक्ष्मीनारायण तिमिल्सिनाको स्वास्थ्य परीक्षण गरी कार्यक्रम सुरु गरिएको छ । –रासस