रामचन्द्र रायमाझी
पाल्पा, जिल्लामा कोराना महामारीको संक्रमण मत्थर हुँदै गएको छ । पछिल्लो दुई सातायता संक्रमण निरन्तर घटिरहेको छ भने सक्रिय संक्रमितको संख्यामा समेत उल्लेख्य कमी आएको छ । शनिबार पीसीआर र एन्टिजेनबाट १७ जनाको नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ, भने २९ जना संक्रमणमुक्त भएका छन् । तेस्रो लहर सुरु भएयता दुई साताअघिदेखि संक्रमणको दर सोही अनुपातमा घट्दै गएको छ ।
परीक्षण अनुपातको तुलनामा संक्रमणको दर घटेको जिल्ला स्वास्थ्य कार्यालयले सार्वजनिक गर्ने नियमित अपडेटमा उल्लेख छ । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा अहिलेसम्म पीसीआर परीक्षणबाट संक्रमित हुनेको संख्या ६ हजार ९ सय ६१ पुगेको छ भने एन्टिजेन परीक्षणबाट ५ हजार २ सय ३३ पुगेको छ । यस्तै अहिलेसम्म ११ हजार ७ सय ५९ संक्रमित निको भएका छन्, भने २ सय ६६ जना संक्रमितको मृत्यु भइसकेको छ । संक्रमण दर घट्ने क्रमसँगै सक्रिय संक्रमितको संख्यामा पनि उल्लेख्य कमी आएको छ । तेस्रो लहर सुरु भएयता सबैभन्दा धेरै सक्रिय संक्रमित माघ १९ गते ७ सय ७८ जना थिए । त्यो संख्या अहिले १ सय ६९ मा झरेको छ । जस मध्ये १ सय ६२ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । नयाँ भेरिएन्ट नआएको खण्डमा यही हिसाबले संक्रमण घट्दै जाने हो भने केही दिनमै स्थिति थप सामान्य बन्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । तर जोखिमको हिसाबले भने चनाखो बन्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाई छ । अधिकांस नागरिकले खोप लगाईसकेकाले कोभिडको तेस्रो लहर अहिले कमजोर हुँदै गएको जन– स्वास्थ्यविद्हरुले आकंलन गरेका छन् । केही व्यक्तिहरुमा संक्रमण भए पनि स्वास्थ्यमा जटिल समस्या हुन छाडेपछि जिल्लाका सर्वसाधारण कोरोनासित डराउन छाडेका छन् ।
महामारीको त्रास हट्दै गएपछि यहाँको जनजीवन पनि अहिले सामान्य बन्दै गएको छ । पहिलो र दोस्रो लहरको जस्तो अवस्था भने अहिले छैन । अहिले बजार, सरकारी कार्यालय, वित्तीय संस्था, होटललगायका क्षेत्रमा भीडभाड र रौनक देखिएको छ । मानिसले अहिले न सामाजिक दूरी अपनाउँछन्, न त स्वास्थ्य मापदण्ड नै ।