पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप २७ जना संक्रमितले कोरोना जितेका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १५ जना महिला र १२ जना पुरुषले कोरोना जितेका हुन् ।
स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका १०, रम्भा गाउँपालिकाका ५, बगनासकाली गाउँपालिकाका ४,माथागढी गाउँपालिका, रामपुर नगरपालिकाका ३/३, रैनादेवी छहरा गाउँपालिका, रिब्दीकोट गाउँपालिकाका १/१ जना संक्रमित कोरोनामुक्त भएको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार ८ सय २४ पुगेको छ । जसमा ५ हजार ३ सय ५१ महिला र ६ हजार ४ सय ७३ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १६ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । ९७ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १६ जनामा संक्रमण देखिएको हो । तानसेन, रम्भाका ५/५, बगनासका ४, निस्दी र माथागढीका १/१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार २ सय ४९ पुगेको छ । जहाँ २ हजार ७ सय ६ जना महिला र २ हजार ५ सय ४३ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
सोमबार पीसीआर परीक्षण गर्दा एक जनामा पनि संक्रमण देखिएको छैन । यस्तै यहाँ अहिलेसम्म २ सय ६६ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८८ जना महिला र १ सय ७८ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म १ सय २४ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय १७ जना होम आइसोलेसनमा रहेका छन् भने ७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।