पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना संक्रमित कोरोनामुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका २ जना महिला र ६ जना पुरुषले संक्रमणमुक्त भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ३, बगनासकाली गाउँपालिकाका २,माथागढी गाउँपालिका, पूर्वखोला गाउँपालिका, रैनादेवी छहरा गाउँपालिकाका १/१ जना संक्रमित कोरोनामुक्त भएको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार ८ सय ३२ पुगेको छ । जसमा ५ हजार ३ सय ५३ महिला र ६ हजार ४ सय ७९ जना पुरुष रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ८ जना नयाँँ कोरोना संक्रमित थपिएका छन् । ८ जनाको पीसीआर परीक्षणमा ४ जनामा संक्रमण देखिएको हो । योसँगै पीसीआर परीक्षणबाट संक्रमित हुनेको संख्या ६ हजार ९ सय ६९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७ जनामा एन्टिजेन परीक्षण गरिएकोमा ४ जनामा संक्रमण देखिएको छ । जसमा तिनाउ र रम्भाका २/२ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार २ सय ५३ पुगेको छ । जहाँ २ हजार ७ सय ८ जना महिला र २ हजार ५ सय ४५ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै यहाँ अहिलेसम्म २ सय ६६ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८८ जना महिला र १ सय ७८ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म १ सय २४ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये १ सय २० जना होम आइसोलेसनमा रहेका छन् भने ४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।