पाल्पा, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विरोधमा ६ दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव पाल्पामा पनि परेको छ । विप्लव नेतृत्वको नेकपासहित ६ वटा राजनीतिक दलले एमसीसी सम्झौता खारेजीको माग गर्दै बुधबार नेपाल बन्दको आह्वान गरेका हुन् । बन्दका कारण जिल्लाबाट छुट्ने र जिल्ला भित्रिने सार्वजनिक सवारीसाधन चल्न सकेनन् । फाटफुट रुपमा केही निजी सवारी साधन भने गुडेका छन् । तानसेनका केही भित्री भागमा भने पसल फाटफुट खुलेका छन् भने विद्यालयहरु पूर्ण रुपमा बन्द नै छन् ।
जिल्लाको मुख्य बजार क्षेत्रमा बन्दको प्रत्यक्ष प्रभाव परेको छ । बन्दका कारण मुख्य राजमार्ग क्षेत्रका पसलहरु साथै सहरका मुख्य बजार बन्द नै रहेका छन् । लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न नसक्दा यात्रुहरु गन्तव्यमा पुग्नका लागि सास्ती खेप्नु परेको छ । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ । बन्दकर्ताहरुले बन्द साँझ ५ बजेसम्म जारी राखेको जनाएका छन् । विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपीगजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा लगायतका दलहरुले एमसिसी अनुमोदन गर्न तयारी थालेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् ।