Shittalpati
प्रजातन्त्र जोगाउन जाग्यो पाल्पा काँग्रेस

रामचन्द्र रायमाझी
पाल्पा, पछिल्लो समय प्रजातन्त्र संकटमा पर्दै गएको छ । सत्ता पक्षबाट होस् वा प्रतिपक्ष दलहरुबाट नै किन नहोस् प्रजातन्त्र संकटमा पर्दै गएको अनुभूति आमनागरिकमा भएको छ । जनक्रान्तिका माध्यमबाट एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र ल्याइएको भएपनि अहिले आएर राजनीतिक दलहरुले त्यसलाई चटक्कै बिर्सेका छन् । उनीहरुका पछिल्ला गतिविधिहरुबाट तानाशाही प्रवृत्ति हावी हुँदै जाँदा प्रजातन्त्र नै संकटमा परेको प्रष्ट हुन्छ ।

प्रजातन्त्रको पर्यावाचीका रुपमा रहेको नेपाली काँग्रेस नेतृत्वले समेत प्रजातन्त्रलाई भूल्दै गएका बेला पाल्पा काँग्रेस भने प्रजातन्त्र जोगाउन प्रयासरत देखिएको छ । काँग्रेसको १४ औं महाधिवेशनबाट पाल्पामा युवा नेतृत्व आएसँगै प्रजातन्त्र जोगाउने अभियानमा काँग्रेस प्रयासरत रहेको देखिन्छ । प्रजातन्त्र स्थापनाका लागि ज्यान आहँुति दिएका वीर सहिदको सम्झना, राष्ट्रिय एकता मेलमिलाप दिवस मनाउनेदेखि प्रजातान्त्रिक विषयमा वहस र अन्तक्र्रिया गर्दै आएको पाल्पा काँग्रेसले राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा प्रजातन्त्र दिवस समेत मनाउने तयारी गरेको छ । यस अघि जिल्लाभरका पालिकामा सच्चा सहिदको स्मरणमा सहिद सप्ताह मनाई सकेको काँग्रेसले फागुन ७ गते जिल्लाका ८१ वटै वडामा प्रजातन्त्र दिवस मनाउने तयारी गरेको हो । केही राजनीतिक दलहरुका कारण जनतामा वितृष्ण पैदा हुँदै गएकाले उनीहरुलाई प्रजातन्त्रको अनूभुति दिलाउन र त्यसको संरक्षणमा नेपाली काँग्रेस पाल्पा लागि परेको जिल्ला सभापति तथा युवा नेता हिमालदत्त श्रेष्ठले बताए । उनले भने ‘प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ, तर त्यही जगलाई भुल्ने काम भएको छ ।’ काँग्रेसकै नेतृत्वमा भएको सशस्त्र आन्दोलनकै कारण प्रजातन्त्रको उदय सम्भव भएकाले संकटमा परेको प्रजातन्त्रको अनूभुति आमजनतालाई दिनकै लागि गाउँ–गाउँ र टोल–टोलमा पुगेर प्रजान्तत्र दिवस मनाउन लागिएको सभापति श्रेष्ठले एनजेडीलाई बताए । उनले सांगठनिक अभियानका रुपमा काँग्रेस अगाडि बढेको समेत बताए ।

नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातन्त्र काँग्रेसको २००६ सालमा एकीकरणपछि बनेको नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो । प्रजातन्त्र दिवसका लागि काँग्रेसले ८१ वटै वडामा प्रतिनिधि तोकेको पार्टी सचिव सन्तोष थापा मगरले बताए । उनका अनुसार दिवसका दिन ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिक र प्रजातान्त्रिक सेनानीहरुलाई सम्मान समेत गरिने छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update