पाल्पा, नेपाली काँग्रेस तानसेन नगरपालिका १२ वौघा पोखराथोकले पनि एक कार्यक्रमको आयोजना गरी प्रजातन्त्र दिवस मनाएको छ । काँग्रेसले वडा भित्र रहेका प्रजातन्त्र सेनानी एवं प्रजातन्त्रवादी र ७० वर्ष भन्दा माथिका जेष्ठ क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान गर्दै दिवस मनाएको हो ।
दिवसलाई सम्बोधन गर्दै नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले केही राजनीतिक दलहरुका कारण जनतामा वितृष्ण पैदा हुँदै गएकाले उनीहरुलाई प्रजातन्त्रको अनूभुति दिलाउन र त्यसको संरक्षणमा नेपाली काँग्रेस पाल्पा लागि परेको बताए । उनले भने ‘प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ, तर त्यही जगलाई भुल्ने काम भएको छ ।’ काँग्रेसकै नेतृत्वमा भएको सशस्त्र आन्दोलनकै कारण प्रजातन्त्रको उदय सम्भव भएकाले संकटमा परेको प्रजातन्त्रको अनूभुति आमजनतालाई दिनकै लागि गाउँ–गाउँ र टोल–टोलमा पुगेर प्रजान्तत्र दिवस मनाइएको सभापति श्रेष्ठले बताए । उनले सांगठनिक अभियानका रुपमा काँग्रेस अगाडि बढेको समेत बताए । काँग्रेसको जग भनेकै वडा तह रहेकाले वडा तहलाई बलियो बनाउन पाल्पा काँग्रेस लागि परेको सभापति श्रेष्ठले धारणा व्यक्त गरे । उनले नेपाली काँग्रेसलाई अबका दिनमा संस्थागत बनाउँदै आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन सबै नेता कार्यकर्ता अग्रसर भएर लाग्न समेत आग्रह गरे । नेपाली काँग्रेसले उत्पादन रोजगार र व्यवसाय जोड्ने लक्ष्य राखेको सभापति श्रेष्ठले बताए ।
कार्यक्रममा समारोह समितिका संयोजक एवं नेपाल प्रेस युनियनका सभापति भरत शर्माले आगामी निर्वाचनका लागि नेपाली काँग्रेसका नेता कार्यकर्तालाई उत्साहका साथ लाग्न आग्रह गरे । कार्यक्रमका सह–संयोजक एवं डिएलए पाल्पाका सचिव केशवराज अधिकारीले नेपाली काँग्रेसको पक्षमा जनलहर ल्याउने जेष्ठ नागरिकको भूमिका महत्वपूर्ण रहेको बताए । यसै गरी तरण दलका सभापति मेजर सिंह के.सीले समाज रुपान्तरण गरी सभ्य र सुखी समाज बनाउन नेपाली काँग्रेसले विजयी हाशिल गर्न अपरिहार्य रहेकोमा जोड दिए । कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु भोज बहादुर के.सी, हिमलाल पराजुली जुद्धविर थापा सोमरे, टंकनाथ घिमिरे, पशुपति के.सी लगाायतले आ–आफ्ना धारणा राखेका थिए । वडा सभापति धन बहादुर दंगालको अध्यक्षतामा कार्यक्रम भएको थियो । ‘घर–घरमा’ जाऔं काँग्रेस जिताऔं अभियानबाट सुरु गरिएको यस कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १ दर्जन कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।