Shittalpati
पाल्पामा काँग्रेसले मनायो प्रजातन्त्र दिवस

पाल्पा, नेपाली काँग्रेस पाल्पाले ७२ औं प्रजातन्त्र दिवस मनाएको छ । काँग्रेसले १० स्थानीय तहका ८१ वटै वडामा वडा समिति मार्फत प्रजातन्त्र सेनानी एवं प्रजातन्त्रवादी र ७० वर्ष भन्दा माथिका जेष्ठ क्रियाशिल व्यक्तित्वहरुलाई सम्मान गर्दै दिवस मनाएको हो ।

नेपाली काँग्रेस तानसेन नगरपालिका १२ वौघा पोखराथोकले दिवसका अवसरमा वडा भित्र रहेका ७० वर्ष माथिका जेष्ठ क्रियाशिल, प्रजातन्त्र सेनानी एवं प्रजातन्त्रवादी व्यक्तित्वहरुलाई सम्मान गरेको छ । नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठ, समारोह समितिका संयोजक एवं नेपाल प्रेस युनियनका सभापति भरत शर्माले प्रजातन्त्र सेनानी एवं प्रजातन्त्रवादी व्यक्तित्वहरुलाई सम्मान गरेका हुन् । सम्मान गर्दै सभापति श्रेष्ठले केही राजनीतिक दलहरुका कारण जनतामा वितृष्ण पैदा हुँदै गएकाले उनीहरुलाई प्रजातन्त्रको अनूभुति दिलाउन र त्यसको संरक्षणमा नेपाली काँग्रेस पाल्पा लागि परेको बताए । उनले भने ‘प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ, तर त्यही जगलाई भुल्ने काम भएको छ ।’

 

काँग्रेसकै नेतृत्वमा भएको सशस्त्र आन्दोलनकै कारण प्रजातन्त्रको उदय सम्भव भएकाले संकटमा परेको प्रजातन्त्रको अनूभुति आमजनतालाई दिनकै लागि गाउँ–गाउँ र टोल–टोलमा पुगेर प्रजान्तत्र दिवस मनाइएको सभापति श्रेष्ठले बताए । कार्यक्रममा समारोह सभारोह समितिका संयोजक एवं नेपाल प्रेस युनियनका सभापति शर्माले आगामी निर्वाचनका लागि नेपाली काँग्रेसका नेता कार्यकर्तालाई उत्साहका साथ लाग्न आग्रह गरे । कार्यक्रमका सह–संयोजक एवं डिएलए पाल्पाका सचिव केशवराज अधिकारीले नेपाली काँग्रेसको पक्षमा जनलहर ल्याउने जेष्ठ नागरिकको भूमिका महत्वपूर्ण रहेको बताए । यसै गरी तरण दलका सभापति मेजर सिंह के.सीले समाज रुपान्तरण गरी सभ्य र सुखी समाज बनाउन नेपाली काँग्रेसले विजयी हासिल गर्न अपरिहार्य रहेकोमा जोड दिए । कार्यक्रममा नेपाली काँग्रेसका नेताहरु भोज बहादुर के.सी, हिमलाल पराजुली जुद्धविर थापा सोमरे, टंकनाथ घिमिरे, पशुपति के.सी, वडा सभापति धन बहादुर दंगाल लगाायतले आ–आफ्ना धारणा राखेका थिए । यस्तै नेपाली काँग्रेस तानसेन नगरपालिका –३ वडा कार्यालयले पनि वडा भित्र रहेका ७० वर्ष माथिका जेष्ठ क्रियाशिल, प्रजातन्त्र सेनानी एवं प्रजातन्त्रवादी व्यक्तित्वहरुलाई सम्मान गर्दै दिवस मनाएको छ । उसले २४ जना प्रजातन्त्र सेनानी एवं प्रजातन्त्रवादी व्यक्तित्वहरु लाई सम्मान गरेको छ ।

काँग्रेसले पार्टीमा महत्वपूर्ण योगदान पुर्‍याएका पूर्व बुथ सभापति राजेन्द्र गोपाल सिंह, भूषण राजलवट, विष्णुबहादुर मल्ल, उत्तम कुमार बज्राचार्य र दलबहादुर राजपुतलाई सम्मान गरेको छ । यस्तै उसले प्रजातान्त्रिक सेनानीहरू कृष्णप्रसाद शाक्य, बिष्णु प्रसाद उदय, सुमना शाक्य, मंगलप्रसाद बज्राचार्य, गंगाधर भट्टराई, तिलकमान महर्जन, मीन बहादुर के.सी., केशवमान बज्राचार्य , डुल बहादुर कुँवर क्षेत्री, शेरबहादुर शाही, खडानन्द पाण्डे, सोमप्रसाद पौडेल,जीवनरत्नराज भण्डारी, शान्तादेवी घिमिरे, मनचन श्रेष्ठका साथै मनिन्द्र बज्राचार्यलाई सम्मान गरेको छ । सोही अवसरमा स्व. भगवती ध्वज राजलवट, स्व. चकोरमान शाक्य, स्व. प्रेमराज शाक्य र स्व. भरत परियारलाई पनि मरणोपरान्त सम्मान गरेको छ । सम्मानित व्यक्तित्वहरुलाई प्रमुख अतिथि तथा नेपाली काँग्रेस तानसेन नगर समितिका सभापति सुवर्णमुनि शाक्यले सम्मान गरेका हुन् । सम्मान गर्दै प्रमुख अतिथि शाक्यले प्रजातन्त्र सेनानी एवं प्रजातन्त्रवादी व्यक्तित्वहरुले देखाएको बाटोको सबैले अनुसरण गर्नुपर्ने बताए । उनले हाम्रा सहिदहरू र प्रजातान्त्रिक आन्दोलनका अग्रजहरूको त्याग तपस्या बाटनै हामीले प्रजातन्त्र प्राप्ति गरेको बताउदै त्यसको संरक्षणमा सबै लाग्नुपर्ने बेला आएको धारणा व्यक्त गरे ।

कार्यक्रममा विशिष्ठ अतिथि नेपाली काँग्रेसको प्रतिनिधि धनकला गाहाले नेपाली काँग्रेस पाल्पाले आजकै दिनदेखि चुनावी रणनीति तय गर्दै समग्र विकास निर्माणको खाका कोर्ने बताईन् । नेपाली काँग्रेसका वडा सभापति पुष्कर राज रेग्मीले नेपालमा प्रजातन्त्रको सुवात पाल्पाको यही वडाबाट भएको बताए । प्रजातन्त्र आउनु अघिनै यही वडाले प्रजातन्त्रको सुरुवात गराएको उनले स्मरण गरे । सम्मानित व्यक्तित्वहरू मीनबहादुर के.सी., विष्णु बहादुर मल्लले काँग्रेसले योगदानको कदर गरेकोमा आफुहरु अत्यन्त उत्साहित भएको बताए । सोही अवसरमा वडाले सांगठनिक रणनीतिहरू समेत तय गरेको छ । वडा सभापति पुष्कर राज रेग्मीको अध्यक्षता, उपसभापति तुमला बज्राचार्यको स्वागत, वडा सचिव सुनिल बहादुर थापा क्षेत्रीको सञ्चालनमा कार्यक्रम भएको थियो । काँग्रेसले शनिबार ८१ वटै वडामा यस्तै कार्यक्रम गरेको छ । ‘घर–घरमा’ जाऔं काँग्रेस जिताऔं अभियानबाट सुरु गरिएको यस कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन ७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update