पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १० जना महिला र ७ जना पुरुष संक्रमणमुक्त भएका हुन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा तानसेन नगरपालिकाका ६, रामपुर नगरपालिकाका ५, रैनादेवी छहरा गाउँपालिकाका ३, रम्भा गाउँपालिका, पूर्वखोला गाउँपालिका ,माथागढी गाउँपालिकाका १/१ जना संक्रमित कोरोनामुक्त भएको पाइएको हो । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार ९ सय १६ पुगेको छ । जसमा ५ हजार ४ सय ६ महिला र ६ हजार ५ सय १० जना पुरुष रहेका छन् ।
आइतबार पाल्पामा एक जनाको पनि परीक्षण भएको छैन । यहाँ अहिलेसम्म २ सय ६६ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८८ जना महिला र १ सय ७८ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा अहिलेसम्म ६१ जना सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ६० जना होम आइसोलेसनमा रहेका छन् भने १ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।