पाल्पा, जिल्लामा कोराना भाइरसका सक्रिय संक्रमितको संख्या निरन्तर ओरालो लागेको छ । माघ महिनाको तेस्रो हप्तादेखि संक्रमण हुने दर निरन्तर घटिरहेकाले सक्रिय संक्रमितको संख्या पनि ओरालो लागेको हो ।
जिल्लामा अहिलेसम्म ५८ जना मात्र सक्रिय संक्रमित रहेका छन् । जस मध्ये ५६ जना होम आइसोलेसनमा रहेका छन् भने २ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । मंगलबार पीसीआर र एन्टिजेनबाट ३७ जनाको नमुना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ, भने ४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ११ जनाको पीसीआर परक्षिण गरिएकोमा २ जनामा मात्र संक्रमण पुष्टि भएको छ । जसमा तानसेन नगरपालिका र माथागढी गाउँपालिकाका १/१ जना रहेका छन् । योसँगै जिल्लामा पीसीआर परीक्षणबाट संक्रमित हुनेको संख्या ६ हजार ९ सय ७७ पुगेको छ । जसमा २ हजार ७ सय ९८ जना महिला र ४ हजार १ सय ७९ जना पुरुष रहेका छन् ।
यस्तै २६ जनाको एन्टिजेन परीक्षण गरिएकोमा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमा पूर्वखोला गाउँपालिका र बगनासकाली गाउँपालिकाका १/१ जनामा संक्रमण देखिएको हो । योसँगै जिल्लामा एन्टिजेन परीक्षणबाट संक्रमण हुनेको संख्या ५ हजार २ सय ७८ पुगेको छ । जहाँ २ हजार ७ सय २२ जना महिला र २ हजार ५ सय ५६ जना पुरुष रहेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ जना संक्रमित निको भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ३ जना महिला र १ जना पुरुष संक्रमणमुक्त भएका हुन् । रामपुर नगरपालिकाका ३ र तानसेन नगरपालिकाका १ जना संक्रमित निको भएको जनाइएको छ । योसँगै जिल्लामा निको हुने संक्रमितको संख्या ११ हजार ९ सय ३१ पुगेको छ । जसमा ५ हजार ४ सय १२ जना महिला र ६ हजार ५ सय १९ जना पुरुष रहेका छन् ।
यस्तै यहाँ अहिलेसम्म २ सय ६६ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा ८८ जना महिला र १ सय ७८ जना पुरुष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।