पाल्पा, नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले जिल्लाका स्वास्थ्यकर्मीहरुलाई द्रूत प्रतिकार्य टिम (आरआरटी) तालिम दिएको छ । रेडक्रसले समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य कार्यक्रम अन्र्तगत यहाँका स्वास्थ्यकर्मीहरुलाई आरआरटी तालिम दिइएको हो । अष्ट्रेलियन रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा रेडक्रसले समुदायमा आधारित स्वास्थ्य तथा प्राथमिक उपचार र आपतकालिन स्वास्थ्य कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही कार्यक्रम अन्तर्गत उसले जिल्लाका दश वटै स्थानीय तहका स्वास्थ्यकर्मी र रेडक्रसकर्मीहरुलाई तालिम दिएको हो ।
रेडक्रसले तानसेन नगरपालिकाका भित्रका २२ जना, अन्य ९ वटा पालिकाका २०/२० जना र २ जना रेडक्रस कर्मी गरी ४४ जनालाई आरआरटी तालिम दिएको छ । नेपालमा महामारीको रुपमा रहेका रोगहरु, प्रकोप जन्य रोगहरुको अनुसन्धान, यसको व्यवस्थापन, आपतकालिन अवस्थामा समन्वय र सञ्चार, द्रूत स्वास्थ्य लेखाजोखा, आपतकालिन वातावरणीय स्वास्थ्य तथा सरसफाई, संक्रमण जन्य रोगहरुको आपतकालिन व्यवस्थापन, विश्व स्वास्थ्य संगठनको नीतिगत व्यवस्था, कोभिड १९ को अवस्था, तथा कार्ययोजना लगायतका विषयमा स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको रेडक्रसका कार्यक्रम अधिकृत विनोद भारतीले बताए । तालिमको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । तालिमको उद्घाटन गर्दै नगर प्रमुख शाहीले स्वास्थ्यकर्मीहरुका लागि आरआरटी तालिम अत्यन्तै प्रभावकारी हुने बताए । उनले रेडक्रसले सञ्चालन गरेका हरेक तालिमहरु स्वास्थ्यसँग सम्बन्धित हुने र अत्यन्त प्रभावकारी हुने गरेको बताए । नगर प्रमुख शाहीले रेडक्रसका हरेक गतिविधिहरु प्रभावकारी भएकाले नै नगरपालिकाले हरेक कार्यक्रममा सहकार्य गर्दै आएको धारणा व्यक्त गरे । नगरपालिकाले आगामी दिनमा पनि रेडक्रससँग सहकार्य र समन्वय गर्दै जाने उनले बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा.राजेन्द्रकुमार गिरीले नेपाल सरकारको दायित्व भित्र परेको गतिविधि भएता पनि रेडक्रसले स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी आरआरटी तालिम सञ्चालन गर्नु आफैमा प्रशंसनिय रहेको बताए । उनले कोभिड १९ को महामारीमा जस्तै अन्य महामारी आउन नदिनका लागि पनि यस तालिमले ठूलो सहयोग पु¥याउनेमा विश्वास व्यक्त गरे । कार्यक्रममा शाखाका कोषाध्यक्ष भीमसेन कार्की, रेडक्रस केन्द्रका उपनिर्देशक शिवराम गौतम, वरिष्ठ कार्यकारी अधिकृत बाबुराम कार्की, राजु राउत, प्रशिक्षक चुडामणी भट्टराई, स्वास्थ्य संयोजकहरु झपेन्द्र न्यौपाने र मोहन ढकाल लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रम शाखाका सभापति बुद्धि प्रसाद शर्माको सभापतित्व र कार्यक्रम अधिकृत विनोद भारतीको सञ्चालनमा कार्यक्रम भएको थियो ।