रमेश विश्वकर्मा
गुल्मी, नेपाल औषधि व्यवसायी संघ गुल्मी शाखाले नयाँ नेतृत्व चयन गरेको छ । संघको शनिबार तम्घासमा भएको छैठौं अधिवेशनले फर्सुराम पाण्डेयको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
जसको उपाध्यक्ष पार्वता थापा, महासचिव गणेश श्रेष्ठ, कोषाध्यक्ष जुवानन्द बेल्वासे, सचिव नारायण अर्याल, उप–कोषाध्यक्ष अनन्तराज अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा हिम बहादुर पौडेल, जय प्रकाश भट्टराई, खिम बहादुर ज्ञवाली निर्वाचित भएको संघले जनाएको छ । हालसम्म औषधि व्यवसायी संघ गुल्मीमा ७१ जना व्यवसायीहरु आवद्ध रहेका छन् ।
अधिवेशनको संघका निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले उद्घाटन गरेका हुन् । अधिवेशनको उद्घाटन गर्दै निवर्तमान केन्द्रीय अध्यक्ष भट्टराईले औषधि व्यवसायिहरुको समस्या समधानमा नयाँ नेतृत्वले ध्यान दिनुपर्ने बताए । उनले सबै औषधि व्यवसायीहरुले औषधिको संवेदनशिलतालाई ध्यानमा राख्न आग्रह गरे । हरेक किसिमले पछिल्लो समय औषधि व्यवसायीहरुले दुःख पाएको भन्दै भट्टराईले त्यसतर्फ व्यवसायी र संघले ध्यान दिनुपर्नेमा जोड दिए । अधिवेशनमा गुल्मीका औषधि व्यवसायीहरुले निवर्तमान केन्द्रीय अध्यक्ष भट्टराईसँग आफुहरुले भोगेको समस्याहरुको बारेमा समेत गुनासो राखेका थिए । कार्यक्रममा गुल्मी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरे सहित जिल्लाका विभिन्न संघसंस्थाका प्रमुख एवं प्रतिनिधिहरुको पनि उपस्थित रहेको थियो ।