—मदन देउराली
आज फागुन कृष्ण चतुर्दशी तिथि हिन्दू धर्मावलम्बीहरुको प्रमुख पर्व महाशिवरात्री । नेपालमा प्रचलित विभिन्न पर्वहरु मध्ये शिवरात्री पनि एक हो । फागुन कृष्ण चतुर्दर्शी तिथिको मध्यरात्रीमा करौडौं सूर्यमान कान्ति भएको ज्योतिर्लिङ्ग स्वरुप भगवान शिव उत्पत्ति हुनु भएको बृतान्त शास्त्रहरुमा पाइन्छ । भगवान शिव स्वयं प्रकट हुनु भएकाले उक्त पवित्र रात्रीलाई महाशिवरात्री भनिएको भनिन्छ । पौराणिक कथा अनुसार आजैको दिन शिव पार्वतीको विवाह भएको पनि भनिन्छ । त्यसैले यो दिनलाई अत्यन्त पावन दिनको रुपमा मानिन्छ । आजको दिन हिन्दू धर्मालम्विहरुले अत्यन्त श्रद्धा भक्तिपूर्वक निराहार बसी देवको पनि देव महादेव, भगवान शिवको पूजा गर्ने, ब्रत बस्ने, साँझपख धुनी बालि रात्रीमा जाग्राम बसी मनाउँछन् । भाद्र कृष्णजन्माष्टमीलाई मोहरात्री, आश्विन शुक्लअष्टमीलाई कालरात्री भनिन्छ भने शिवरात्रीलाई महारात्री भन्ने गरिन्छ । खासमा भगवान शिवको पूजा रात्रीकालिन समयमा गरिने भएकाले यसलाई शिवरात्री वा महारात्री भनिएको भनिन्छ । भगवान शिवलाई धेरै नामबाट सम्बोधन गरिन्छ महादेव, भोले बाबा, पशुपतिनाथ, शंकर, नीलकण्ठ, शम्भो, महाकाल, महामृत्युञ्जय, सर्वेश्वर, त्रिकालदर्शी, करुणामयी, नटराज, सदाशिव, रुद्र, बाघम्बर, नाटेश्वर, आशुतोष आदि आदि । भनिन्छ भगवान शिव विद्या र ज्ञानका देवता पनि हुन् । सम्पूर्ण विद्या तथा कलाका आदि आचार्य भगवान शंकर हुनुहुन्छ । संगीत भगवान शिव कै डमरु नादबाट उत्पत्ति भएकाले नृत्यका विधायक पनि उनै नाटेश्वर भगवान हुनुहुन्छ । भगवान शिवको नाटय मुद्रालाई नाटेश्वर जसलाई नेवारी भाषामा नाश द्यो पनि भनिन्छ । प्रत्येक सांगीतिक कार्यक्रमहरु गर्दा सबभन्दा पहिला नास द्योको पूजा आराधना गर्ने चलन रहेको छ । यसरी आराधना गरेमा सो कार्यक्रम राम्रोसँग सफलतासँग सम्पन्न हुन्छ भन्ने विश्वास गरिन्छ ।
शिवको अर्थ हुन्छ कल्याण । आसुतोषको अर्थ हो चाँडै प्रसन्न हुने देवता । भनिन्छ भगवान शिव अत्यन्त दयालु हुनुहुन्छ र छिटै प्रसन्न हुनु हुन्छ र यस्तो बेलामा भक्तले जे मागे पनि दिनु हुन्छ । श्री स्वस्थानी व्रतकथा पुस्तकमा लंकाका राजा रावणले भगवान शिवलाई आफ्नो तपले प्रशन्न गराएर माता पार्वतीलाई नै लिएर गएको र पछि भगवान विष्णुले चाल पाई रावणलाई मायामा पारी माता पार्वतीलाई छुटाएर लगेको उल्लेख गरिएको छ । त्यसैले पनि उहाँलाई भोले बाबा भनिएको हो भनिन्छ । पौराणिक कथा अनुसार समुन्द्र मन्थन गर्दा निस्केको कालकुट विषलाई भगवान शिवले आफ्नो कण्ठमा राखी संसारलाई विनाश हुनबाट बचाउनु भएको पनि भनिन्छ । सो विष निलेको हुनाले भगवान शिवको घाँटी नै निलो भएकाले उहाँलाई निलकण्ठ पनि भनिने गरिन्छ । शिवपुराणमा भगवान शिवलाई बाघको छाला ओढने, नर मुण्ड माला र नागको माला लगाउने, हातमा त्रिशुल र डमरु लिएका, खरानी घस्ने, स्मसानमा बस्ने, बुढो साँढे चढने, विष भाङ धतुरो खाने, भूतप्रेत पिशाच नन्दी भृंगी साथ लिइ हिड्ने भनेर शिवको स्वरुपलाई वर्णन गरिएको छ । तर यी सबैको आ–आफ्नो विशेषता रहेको छ पनि भनिन्छ । जस्तो भगवान शिवले आफनो शरिरमा घस्ने भस्म अर्थात खरानी भनेको कुनै बस्तु जलेर बाँकी रहेको अवषेश हो । भगवान शिवले चिता जलेर बाँकी भएको खरानी आफ्नो शरिरमा घस्दछन् । खरानीलाई पवित्र मानिन्छ । यसरी चिताबाट निकालेर आफ्नो शरिरमा घस्नुलाई मृतआत्मासँग जोडिएको भनिन्छ । मरिसकेको मान्छको कुनै अस्तित्व हुँदैन । उसको दुख, सुख, असल, खराब, केही रहँदैन । मृत्युको साथ साथमा सबै हराएर जान्छ । यसरी भगवान शिवले खरानी अर्थात् पवित्रताको सम्मान गरेको छ भन्ने भनिन्छ । उहाँको गलामा डरलाग्दा भयंकर सर्पको हार हुन्छ । सर्प रिस र अहंकारको प्रतिक हो, मानव जातिको शत्रु हो तर त्यसलाई भगवानले आफ्नो शरिरमा धारण गर्नु भएको अर्थ हो भगवान रिस अहंकार भन्दा पनि माथि हुनुहुन्छ । शक्तिको दुरुपयोग र अहंकारको नाशको संकेत स्वरुप दुष्टहरुको संहार गरी गलामा मुण्डमाला लगाउनु हन्छ । कुरुप भूत पे्रत पिशाच आदि समाजबाट अपहेलित भएकालाई भगवानले आफ्नो गणमा स्थान दिनु भएको छ भने भिन्न बनावटको प्राणी साँढेलाई आफ्नो बाहनको रुपमा स्वीकार गर्नु भएको छ । बाघको छालालाई बस्त्रको रुपमा धारण गरी बाघम्बरको नामले चिनिनु भएको छ । उहाँको जटामा पावन गंगा, शितल चन्द्रमा, मस्तकमा प्रलयंकर ज्वाला, आदि आदि छन् । भगवान शिवको रौद्ररुपलाई कालभैरव भनिन्छ । भगवान शिवलाई एकातिर करुणामय तथा अर्को तिर संहारकर्ता दुबैरुपमा लिइन्छ ।
शिवरात्रीको अर्थ हुन्छ शिवको रात्री । भगवान शिवको पूजा भनेको शिवलिंगको पूजा गर्ने हो । शिवलिंग शिवको ज्योतिर्मय निराकारको स्वरुप हो । शिवलिङ्ग शिवको पुजातिय सिर्जनात्मक शक्तिको प्रतिक हो । यस सन्दर्भ एउटा किंवबदन्ति पनि पुराणमा पाइन्छ । एकपटक भगवान विष्णु र ब्रम्हदेवको बीचमा को श्रेष्ठ भन्ने विषयमा ठूलो विवाद भएछ । त्यसै बेला भगवान शिव दुबैजनाको बीचमा ज्योतिलिङ्गको रुपमा प्रकट हुनु भयो । भगवान शिवले ब्रम्हा विष्णु दुबैजनालाई ज्योतिलिङ्गको फेद र टुप्पा पत्ता लगाउन आदेश दिनु भयो । दुबै देवताले सो ज्योतिलिङ्गको फेद र टुप्पा खोज्न लागे तर कतै फेला पार्न सकेनन् । विष्णुले आफ्नो हार स्वीकारे तर बम्हाले गोलाइंती फूललाई आफुहरुले पत्ता लगाएको भनी साक्षिको रुपमा ल्याई ढाँट्न लगाए । अन्तर्यामी भगवान शिवले यो कुरा थाहा पाई हाल्नु भयो किनकी ज्योतिलिङ्ग अनन्तसम्म फैलिएको थियो जसलाई पत्ता लगाउन सकिन्न थियो । यसरी ब्रम्हा र गोलाइती फूलले झुट बोलेको आरोपमा भगवान शिव अत्यन्त क्रोधित हुनु भयो र ब्रम्हाको पाँचवटा शिर मध्ये एउटा काटि दिनु भयो । साथै अब देखि कसैले पनि ब्रम्हाको पूजा नगरुन भनि श्राप दिनु भयो । साथै कुनै पनि पूजामा गोलाइती फूलको प्रयोग नहोस् भनि श्राप दिनु भयो । त्यसैले पनि ब्रम्हाको पूजा कतै गरिदैन साथै गोलाइती फूल जतिसुकै राम्रो भएर पनि फूले पनि यो फूल राखेर पूजा गरिदैन । यस दिनको मूख्य तत्व भनेको कठोर उपवास तथा रातभर जागरण बसी भगवानको आराधना गर्नु हो । आजको दिन पूजा गर्दा पहिलो प्रहरमा दूधले दोश्रो प्रहरमा दहीले तेश्रो प्रहरमा घिउले र चौथौ प्रहरमा महले स्नान गराएर पूजा गर्नु पर्दछ भनिन्छ । सम्पूर्ण दीन दुःखी र संकटले घेरिएका प्राणीहरुको हृदयमा बास गरी कल्याण गराउने आशुतोष भगवान शिवको सर्वाधिक प्रिय रात्री भएकाले यसलाई महाशिवरात्री पनि भनिन्छ । त्रयोदशीको मध्यरातलाई शिलाचन्हे शिवरात्री भनिन्छ । ब्रतहरु मध्ये सर्वोकृष्ट मानिएको महाशिवरात्रीका दिन भक्तहरु शुद्ध भई शिव मन्दिरमा पूजा आराधना गरी ब्रत बसी भगवान् शिवका प्रिय बस्तुहरु दूध, धतुरो, बेलपत्र आदि चढाउने गर्दछन् । यस पर्वका दिन उपवास बसी ओम नमः शिवाय मन्त्र जप गर्दा पनि आफ्नो मनकामना सिद्ध हुुनुका साथै आजिवन सुख ऐश्वर्य र मृत्यु पश्चात शिवलोक प्राप्त हुन्छ भन्ने पुराणहरुमा उल्लेख गरिएको पाइन्छ । भगवान शिव अत्यन्त दयालु देवता हुनु हुन्छ र उहाँ प्रशन्न भएमा आफुले इच्छाएको पूरा हुन्छ भन्ने विश्वास गरिन्छ । शिवरात्रीको रातमा शिव मन्दिरहरुमा ठूला ठूला मूढाहरु बालिन्छ । शिव मन्दिरहरुमा विहानदेखि नै पूजा आराधना गर्न भक्तजनहरुको भीड लाग्दछ । भनिन्छ शिवरात्रीको दिनदेखि पूर्णरुपमा गर्मी शुरुवात हुन्छ ।
काठमांडौ उपत्यकाबाट विभिन्न कालखण्डमा विभिन्न कामले तानसेन आएका नेवारहरुले आफुहरु यहाँ स्थापित भैसकेपछि अन्य मन्दिरहरु श्रीगणेश, भीमसेन आदिका मन्दिरहरु बनाए जस्तै गरी भगवान शिवका मन्दिरहरु पनि टोलटोलमा जसो बनाएको पाइन्छ । पाल्पाका लागि पहिलो तैनाथवाला अमरसिंह थापाले अमर नारायण मन्दिर बनाउँदा सोही परिसरमा अमरेश्वर महादेवको मन्दिर पनि बनाए । त्यस्तै गरी राणा तैनाथवाला बद्री नरसिंह राणाको पालामा भगवती मन्दिर परिसरमा बद्रेश्वर महादेव स्थापना गरे । वडा नम्बर ८ भगवती टोलमा भक्तजनहरुले नै शिवको मन्दिर स्थापना गरी शिवालय बनाएका छन् । मखनटोल सडकमा भगवान गणेश तथा महादेव मन्दिरसँग संगै रहेको छ । गोर्खेकोटमा पनि सो क्षेत्रको बासिन्दाहरुले पूजा गर्न शिव मन्दिर बनाएका छन् । बराड्दीमा भगवान शिवको विशाल मूर्ति नै बनाइएको छ । प्रभासमा पनि मणि मुकुन्देश्वर महादेवको मन्दिर रहेको छ भने पारीको डाँडामा बंशगोपालको मन्दिर रहेको छ । पहिला पहिला शिवरात्रीका दिन प्रभासमा ठूलो मेला लाग्थ्यो । सिद्धार्थ राजमार्ग बनेको थिएन त्यसैले हिडेर काजीपौवा, फेदी भएर प्रभास पुगिन्थ्यो । फर्केर आउँदा उखु टोक्दै आउँथे । प्रभासको आँप बगैंचामा मेला लाग्थ्यो । केवल आँपका रुखहरु मात्र थिए मेला गर्न प्रसस्त ठाउँ थियो त्यसैले मेलाको रौनक नै अर्को हुन्थ्यो । जताततै गाउँमा उत्पादित बस्तुहरुको बजार लाग्थ्यो । कृषि मेलाको आयोजना गरिन्थ्यो । गाउँमा उत्पादन भएका विभिन्न वस्तुहरुको प्रदर्शन गरिन्थ्यो । मेलामा उखु, वटुक, तरुल आदि प्रसस्त पाइन्थ्यो । वटुक खान प्रभासको मेला पर्खनु पथ्र्यो । तर आजभोलि ति ठाउँहरुमा थुप्रै घरहरु बनिसकेका छन् । अहिले मेला गर्न पनि ठाउँ साँगुरो भैसकेको छ । त्यसैले अहिले पहिले जस्तो मेलाको रौनक छैन् भन्छन् मेला भर्न जानेहरु । यस दिन तानसेन बजारका हिन्दू धर्मावलम्वीहरुका घर–घरमा भगवान श्री शिवको पूवा आराधना गरी साँझ पख आगो बालिन्छ भने शिव मन्दिरहरुमा ठूला ठूला मुढाहरु बालिन्छ धूनि जगाइन्छ । कतै कतै मुढा ताप्न आउनेहरुलाई छुस्यामुस्या भनेर मकै, भट्ट, चना,केराउ, बदाम, चामल, बकुला तथा अन्य गेडागुडी भुटेको प्रसादको रुपमा बाँड्ने पनि गर्दछन् । यसरी तानसेन पहिलेदेखि नै संस्कृतिले भरिपूर्ण थियो तर अहिले विस्तारै ति पुराना संस्कृतिहरु लोप हुँदै गइरहेका छन् तर कसैलाई चासो छैन् । अब उहिले हाम्रा बाजेको पालामा यस्तो हुन्थ्यो भन्ने बेला आउँदैछ तानसेनमा । जे जस्तो भए पनि यो पर्वलाई सुख, शान्ति, समृद्धि प्राप्तिका साथै राष्ट्रिय शान्ति, सामाजिक सद्भाव, आपसी मैत्री तथा करुणा भावका साथ मनाऔं । अस्तु ।