Shittalpati
राष्ट्रिय सेवा दल अल्मुनाई बेथलद्वारा रक्तदान

पाल्पा, तानसेनको बेथल इङ्लिस बोेर्डिङ सेकेण्डरी स्कुलमा गठित राष्ट्रिय सेवा दल अल्मुनाईले रक्तदान गरेको छ । स्कूलको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा सेवा दल अल्मुनाईले तानसेनको शितलपाटीमा एक औंपचारिक कार्यक्रमका बीच रक्तदान कार्यक्रम गरेको हो । ‘रक्तदान गरांै जीवन बचाऔं’ भन्ने अभियानका साथ उसले रक्तदान गरेको हो । रक्तदान कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका सभापति बुद्धिप्रसाद शर्माले उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शर्माले मानव जीवन रक्षाको लागि आवश्यक पर्ने रगतको दान दिने जस्तो पवित्र कार्यक्रमको आयोजना गरेकोमा विद्यालयलाई धन्यवाद दिए । उनले विद्यालयले राष्ट्रिय सेवा दलका युवाहरु मार्फत सामाजिक क्षेत्रमा अनुकरणीय काम गर्दै आएको बताए । सभापति शर्माले पछिल्लो समयमा युवाहरु कुलत र दुव्र्यसनीमा फसिरहेको अवस्थामा बेथल स्कुलले युवा विद्यार्थीहरुलाई नेतृत्व विकाससँगै सामाजिक अभियानमा अग्रसर गराउनु अत्यन्तै उदाहरणीय र सिकाई योग्य रहेको धारणा व्यक्त गरे । विद्यालयका प्रिन्सिपल तथा अल्मुनाईका संरक्षक खेमबहादुर सारुले मानविय जीवनका लागि आवश्यक रगतको अभावमा कसैको पनि ज्यान नजाओस् भनेर सेवा दल अल्मुनाईका विद्यार्थी भाइबहिनीहरुले रक्तदान कार्यक्रम गरेको बताए । उनले आजको विश्वमा किताबी ज्ञानले मात्र विद्यार्थीहरु बौद्धिक र व्यवहारिक बन्न नसक्ने भन्दै उनीहरुलाई सामाजिक कार्यमा समेत संलग्न गराउनु आहिलेको अपरिहार्य आवश्यकता रहेको औल्याए । विद्यार्थीहरुलाई आजको विश्वसँग प्रतिस्पर्धा र व्यवहारिक बनाउन आफुहरुले विद्यार्थीहरुलाई कितावी ज्ञानसँगै सामाजिक कार्यक्रममा समेत संलग्न गराउँदै आएको प्रिसिन्सपल सारुले बताए ।

रजत जयन्तीको अवसरमा विद्यालयले स्मारक अनावरण, जेष्ठ नागरिकहरुलाई खाद्यान्न हस्तान्तरण, सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल झोला तथा स्टेशनरी सामग्री वितरण, आत्मरक्षा प्रशिक्षण, हाजिरी जवाफ र रक्तदान जस्ता कार्यक्रमहरु गर्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवप्रसाद नेपालले बताए । कार्यक्रममा गोरखदल गणका सेनानी मानबहादुर बुचामगरले नेपाली सेनाद्वारा प्रशिक्षित राष्ट्रिय सेवा दलले सामाजिक कार्यमा अग्रसरता देखाएकोमा खुसी व्यक्त गरे । कार्यक्रममा १६ पिन रगत संकलन भएको थियो । लुम्बिनी मेडिकल कलेजको प्राविधिक सहयोगमा दक्तदान भएको विद्यालयले जनाएको छ । संकलित रगत लुम्बिनी मेडिकल कलेजलाई हस्तान्तरण गरिएको छ । सेवा दलका अध्यक्ष दिलबहादुर बरालको अध्यक्षता, क्याडेट धनकुमारी छन्त्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update