कृष्ण पोखरेल
पाल्पा, नेपाल रेडक्रस सोसाईटी पाल्पाले जिल्ला अस्पताल पाल्पा र जिल्ला स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाईटी पाल्पाका सभापति बुद्धि प्रसाद शर्माले पाल्पा अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डे र जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत लेखनाथ अर्याललाई स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेका हुन ।
रेडक्रसले जिल्ला अस्पताल पाल्पाका लागि ८ वटा र जिल्ला स्वास्थ्य कार्यालयका लागि ४ वटा बक्स स्वास्थ्य सामग्री प्रदान गरेको हो । प्रजनन स्वास्थ्य सम्बन्धी यौन रोग, सुत्केरी सेवा, गर्भवती महिलाको लागि सुरक्षित गर्भपतन तथा सुत्केरी सेवाका सरसमान तथा औषधी सहयोग गरेको छ । रेडक्रसले विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरुको आवश्यकताको आधारमा स्वास्थ्य सामग्रीहरु केन्द्रिय रेडक्रससँग माग गरी सोही आधारमा केन्द्रले स्वास्थ्य संस्था तथा समुदायमा सामग्री हस्तान्तरण गर्दै आएको छ । उक्त स्वास्थ्य सामग्री ग्रहण गर्दै अस्पताल विकास समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेले रेडक्रसले सिफारिसमा पाएको स्वास्थ्य सामग्रीहरुको पूर्णरुपमा सदुपयोग गर्ने बताए । पाल्पा अस्पतालमा विरामीको संख्या बढ्दै गईरहेको अवस्थामा विमाको कारण विरामीहरुले दुःख पाएको, अस्पतालहरुले उपचार वापतको बिमाको रकम नपाउँदा औषधी खरिद तथा करार ज्यालादारी कामदारहरुलाई समयमा तलव खुवाउन समस्या भएको अस्पतालका अध्यक्ष पाण्डेले बताए । पाल्पा अस्पतालमा सुरक्षित गर्भपतन, सुरक्षित सुत्केरी सेवा तथा यौन रोग लगायतको उपचार हुने अध्यक्ष पाण्डेले बताए ।
कार्यक्रममा रेडक्रसका जिल्ला सभापति बुद्धि प्रसाद शर्माले स्वास्थ्य संस्थामा आवश्यकता भएका औषधी तथा स्वास्थ्य सामग्रीहरुको मागको आधारमा मात्र रेडक्रसले सहयोग गर्दै आएको बताए । आगामी दिनमा अन्य पालिकाका स्वास्थ्य संस्था, सामुदायिक अस्पतालहरुमा समेत स्वास्थ्य सामग्रीहरु सहयोग गर्ने बताए । दुबै संस्थाका लागि ५ लाख बराबरको स्वास्थ्य सामग्रीहरु सहयोग भएको केन्द्रका रेडक्रस अधिकृत नगेन्द्र अर्यालले बताए । संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी केन्दको व्यवस्थापन, नेपाल रेडक्रस सोसाईटी पाल्पाको समन्वयमा निशुल्क रुपमा औषधी सहयोग भएको हो । रेडक्रस शाखाका अधिकृत विनोद भारतीको सञ्चालनमा कार्यक्रम भएको थियो ।