काठमाडौं, मुलुकमा कोभिड–१९ को संक्रमण क्रमश : कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको बताउँदै चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ६२ जनाको परीक्षण गरिएकामा ७३ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ सय ९२ जना संक्रमणमुक्त भई घर फर्केका छन् ।
त्यसैगरी बितेका २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु नभएको जनाइएको छ । हालसम्म मुलुकमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ५० पुगेको छ । हाल देशभर पाँच हजार ५० जना सक्रिय संक्रमित रहेका छन् । जसमा १ सय ६ जना क्वारेन्टिनमा बसेका छन् । पछिल्ला २४ घण्टामा एक लाख १३ हजार चार जनाले कोभिड–१९ विरुद्ध खोप लगाएको मन्त्रालयले बताएको छ । खोप अभियान सुरु भएयता चार करोड ७८ लाख ८२ हजार ८ सय मात्रा खोप लगाइसकिएको छ भने एक करोड ८६ लाख ११ हजार ६ सय २६ जनाले पहिलो मात्रा खोप लगाएका छन् । एक करोड ८३ लाख ९९ हजार ४ सय ५१ जनाले खोपको पूर्ण मात्रा लगाइसकेका छन् । आजसम्ममा १६ लाख ३८ हजार ५ सय ३६ जनाले खोपको अतिरिक्त मात्रा पनि लगाइसकेका छन् । –रासस