पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका–४ खानीछापलाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको छ । नियमित रुपमा चर्पीको प्रयोग, महत्वपूर्ण अवस्थाहरुमा साबुन पानीले हातधुने, पिउने पानीको सुरक्षित व्यवस्थापन र शुद्धिकरण, व्यक्तिगत सरसफाई तथा स्वच्छतामा सुधार तथा घरभित्र र बाहिरका फोहोरमैलाको उचित व्यवस्थापन लगायतका मापदण्ड पूरा गरी वडालाई पूर्ण सरसफाईयुक्त घोषणा गरिएको हो ।
वडालाई एक औपचारिक कार्यक्रमको आयोजना गरी पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको छ । गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले वडालाई पूर्ण सरसफाई वडा घोषणा गरेका हुन् । पूर्ण सरसफाई वडा घोषणा गर्दै अध्यक्ष बस्यालले सिंगो पालिकालाई नै सरसफाईयुक्त पालिका बनाउने गरी गाउँपालिका अगाडि बढेको बताए । विकासको सकरात्मक सूचक मध्ये पूर्ण सरसफाई पनि एक भएकाले सम्पूर्ण मापदण्ड पूरा गरेर प्रत्येक वडालाई सरसफाईयुक्त वडा घोषणा गरिदै आइएको बताए । उनले स्वास्थ्य र सरसफाई मानवजीवनका लागि महत्वपूर्ण पक्ष भएकाले घोषणालाई व्यवहारमा उतार्न वडावासीलाई आग्रह समेत गरे । अध्यक्ष बस्यालले निर्वाचित भएपछि भौतिक विकाससँगै स्वास्थ्य, शिक्षा र चेतनाको स्तरलाई समेत उल्लेखीय रुपमा अगाडि बढाइएको बताए । कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदिले पालिकालाई पूर्ण सरसफाईयुक्त बनाउने अभियानमा यसले इट्टा थप्ने काम गरेको बताइन् । उनले वडाले सरसफाई वडा घोषणा गरेर मात्र नपुग्ने भएकाले त्यसको नियमन, अनुगमन र आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिइन् । गाउँपालिकाका प्रवक्ता लक्ष्मी अधिकारीले सभ्य नागरिकको पहिचान दिन सरसफाईले महत्वपूर्ण टेवा पुग्ने भएकाले सबै वडालाई सरसफाईयुक्त वडा बनाउने योजना अनुसार स्थानीय सरकार अगाडि बडेको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले बगनासकालीमा प्रशासनिक सेवामा सुधार आएको बताउँदै सबै वडाहरुलाई स्तरीय भवन र सुविधा सम्पन्न प्रविधिको प्रयोग गरी सेवालाई जनमैत्री बनाएको बताए । वडा अध्यक्ष हुतमानसिं दर्लामीले वडालाई सरसफाईयुक्त वडा घोषणा गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रममा युवा क्लवका अध्यक्ष मानबहादुर बाकवल, राम प्रावि व्यवस्थापन समितिका अध्यक्ष नन्दकिशोर अमात्य, शिक्षकहरु निलकण्ठ न्यौपाने, सूर्यप्रसाद अर्याल, डोलराज बस्याल लगायतले आ–आफ्ना धारणा राखेका थिए । कार्यक्रममा पूर्ण सरसफाई समितिका सचिव गोपी अधिकारीले पूर्ण सरसफाई वडा घोषणाको प्रतिवेदन पेश गरेका थिए । कार्यक्रम वडा अध्यक्ष हुतमानसिंह दर्लामीको अध्यक्षा, धर्मराज अधिकारीको स्वागत र वडा सचिव माधव भण्डारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।