Shittalpati
आर्थिक अभावमा छट्पटाएका घर्तीले पाए उपचार

गुल्मी, आर्थिक अभावका छट्पटाइरहेका जिल्ला इस्मा गाउँपालिका –५ गुल्मीका २६ वर्षीय टोपबहादुर घर्तीले निःशुल्क उपचार पाएका छन् । खुट्टामा घाउभई थला परेका घर्तीले आर्थिक अभावमा उपचार पाउन नसकेका बेला गुल्मी अस्पताले निःशुल्क उपचार गरिदिएको हो । जिल्ला प्रशासन कार्यालय गुल्मीको समन्वयमा अस्पतालले निःशुल्क उपचार गरिदिएको छ ।

जिल्ला सदरमुकाम तम्घासमा ज्याला मजदुरी गरी जिविकोपार्जन गर्दै आएका घर्ती एक्कासी खुट्टामा घाउ भई विरामी भएका थिए । पैसा नभएपछि उनी उपचार नगरी बसेका थिए । घरमा साहारा दिने कोही नभएकाले घर्ती छट्पटाइरहेका थिए । जिल्ला प्रशासनले घर्तीका विषयमा सबै जानकारी लिएर जिल्ला अस्पतालाई उपचारका लागि आग्रह गरे लगत्तै अस्पतालले उनको निःशुल्क उपचार गरिदिएको हो । काम गरेर खाने उमेरमा उनको त्यो घाउले निकै चिन्ता थपिदिएको थियो । दैनिक ज्याला मजदुरी नगरेरै उनले बिहान बेलुकीको खर्च चलाउँदै आएका थिए । घर्तीको एक्कासी जुत्ताले खुट्टामा सानो घाउ बनाएपछि ठूलो रुप ल्याएको थियो । सानो घाउमा धुलो सिमेन्टका कर्णहरु पस्दै गएपछि घाउले ठूलो रुप लिएको उनले बताए । खुट्टा सुनिदै गयो उनले भने, ‘घाउ पाक्दै जाँदा मासु खस्दै जान थाल्यो बल्ल उपचारमा आए ।’ महिला अधिकारकर्मी तारा पौडेल, प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले सहितको टोलीले जिल्ला अस्पतालमा घर्तीको उपचारका लागि पहल गरेका थिए । उनीहरुले अस्पतालका सुपेरिटेन्डेन्ट डाक्टर उत्तम पच्चालाई निःशुलक उपचार गरिदिन आग्रह गरे अनुरुप घर्तीको उपचार भएको हो । गुल्मी अस्पतालको टिमले घर्तीको झण्डै ३ महिना लगाएर उपचार गरेको थियो ।

अहिले घाउ पूर्णरुप निको भएको छ । उनको ७५ दिनपछि गुल्मी अस्पतालबाट डिस्चार्ज भएको छ । आर्थिक अभावले उपचार पर्खिरहेका घर्तीले निःशुल्क उपचार पाएपछि पुर्नजीवन पाएको बताएका छन् । ‘अब काम गरेर खान सक्ने भएको छु’ घर्तीले भने, ‘यो अवस्थामा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिन्छु ।’ घर्तीको घाउ चुनौतिपूर्ण भएपनि गुल्मी अस्पतालका सम्पूर्ण टिमका कारण उपचार सफल भएको मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर उत्तम पच्चाले बताए । घाउको प्रकृति हेर्दा खुट्टा नै काटनुपर्ने अवस्थामा पुग्न थालिसकेको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update