Shittalpati
स्वास्थ्य बिमाका विरामीको समस्या समाधान गर्न माग

कृष्ण पोखरेल
पाल्पा, स्वास्थ्य बिमा बोर्डको लापरवाहीका कारण विरामीले अनावश्यक दुःख पाएपछी नेकपा एमाले पाल्पाले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराएको छ ।

उपचाररत स्वास्थ्य संस्था लुम्बिनी मेडिकल कलेज र युनाटेड मिसन अस्पतालले उपचार वापतको रकम लामो समयसम्म नपाएको भन्दै उपचारमा विरामीको संख्या घटाएपछि विरामीले अनावश्यक दुःख पाउन थालेपछी एमाले पाल्पाले तत्काल समस्या समाधान गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्रमार्फत ध्यानाकर्षण गराएको हो । रकम नआएको भन्दै स्वास्थ्य संस्थाले बिमा सुविधाको हालको उपचार सेवा संख्यामा समेत कटौती गर्ने बताएका छन् । विरामीहरुले ५ घण्टा लाईन बसेर जिल्ला अस्पतालबाट रिफर लिनुपर्ने, रिफर लिएर उपचार गर्न जाँदा स्वास्थ्य संस्थाले कोटा सकिएको भन्दै पुनः दुई चार दिनपछी मात्र बोलाउने अवस्थाले विरामीको समयमा उपचार हुन नसकी मृत्यु समेत हुन सक्ने अवस्था भएकाले समस्या तत्काल समाधानको ध्यानाकर्षण गरिएको
एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले बताए ।

ज्ञानपत्र ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले स्वास्थ्य बिमाका कारण विरामीले पाएको दुःख र स्वास्थ्य संस्थाले रकम नपाएको बारेमा पटक पटक मन्त्रालय, बिमा बोर्डमा जानकारी गराएकाले केही समय समाधान भए पनि पुनः उस्तै भएकाले समस्यालाई गम्भीरतापूर्वक लिई समाधानका लागि पहल गर्ने बताए । नेकपा एमालेका पोलिटव्युरो सदस्य ठाकुर गैरे, निवर्तमान अध्यक्ष नारायण प्रसाद आचार्य, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारी, एमाले पाल्पाका कार्यलय सचिव दिपक विश्वकर्मा लगायतले बिमाबोर्डको लापरवाहीका कारण जनतामा नकारात्मक असर परेको, समयमा उपचार नपाएको, एक दिनमा हुने उपचार एक हप्ता लाग्ने गरेको भन्दै यही अवस्था रहे स्वास्थ्य बिमाको संख्या घट्दै जाने बताए ।

प्रकाशित मिति: बुधबार, चैत २, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update