रमेश विश्वकर्मा
गुल्मी, जिल्लामा सञ्चालित शिविरमार्फत १ सय ८४ जनाको निःशुल्क मोति विन्दुको सफल शल्यक्रिया गरिएको छ । डाक फाण्डेनसको सहयोग तथा जिल्ला आँखा उपचार केन्द्र तम्घासको सहकार्यमा सञ्चालन गरिएको शिविरमा १ सय ८४ जनाको निःशुल्क मोति विन्दुको सफल शल्यक्रिया गरिएको हो ।
शिविर गत पुसदेखि अहिलेसम्म तीन पटकसम्म सञ्चालन गरिएको जिल्ला आँखा उपचार केन्द्र तम्घासका नेत्र अधिकृत सूर्य बस्नेतले जानकारी दिए । उनका अनुसार तीन वटै शिविर सदरमुकाम तम्घासको आँखा उपचार केन्द्रमा सञ्चालन गरिएको थियो । शल्यक्रियाका लागि परासी आँखा अस्पतालका निर्देशक सर्जन डा.सविता ढकाल, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान भैरहवाका नेत्ररोग विशेषज्ञ डा.अमन गुप्ता, जिल्ला आँखा उपचार केन्द्र तम्घासका प्राविधिकहरुले मोतिविन्दुको शल्यक्रिया गरेको थियो । शिविरमा चार सय भन्दा धेरैले आँखाको उपचार गराए । ३ महिनादेखि ९१ बर्ष सम्मका व्यक्तिहरुले शिविरबाट सेवा लिएका थिए । आर्थिक अभावका कारण आँखाको मोति विन्दुको शल्यक्रिया गर्न नसकेकाहरुले निःशुल्क शल्यक्रिया भएकोमा उत्साहित भएका छन् । नेत्र अधिकृत बस्नेतका अनुसार यस अघिका शिविरमा मोति विन्दुको शल्यक्रियाका लागि सम्पूर्ण जनशक्ति बाहिरबाट ल्याउनुपथ्र्यो तर अहिले एक जना मात्र सर्जन डाक्ट्रर बाहिरबाट ल्याए पुग्छ । मोतिविन्दुको शल्यक्रियाका लागि अन्य जनशक्ति जिल्लामै भएपनि मुख्य सर्जन डाक्टर नहुँदा बाहिरबाट बोलाउनु परेको हो ।
जिल्ला आँखा उपचार केन्द्र तम्घासमा अहिले आफ्नै अत्याधुनिक ए–स्क्यान मेसिन रहेको छ । यसबाट मोतिविन्दुको शल्यक्रिया पछि आँखा भित्र राख्ने लेन्सको पावन मापन गरिन्छ । यसले उपचारमा थप सहजता प्रदान गरेको नेत्र अधिकृत बस्नेतको भनाइ छ । केन्द्रमा आँखाको ९० प्रतिशतसम्म उपचार हुन्छ । जिल्लामा दैनिक आँखाको माइनर शल्यक्रिया र मासिक मोतिविन्दुको मेजर शल्यक्रिया गरिदैं आएको बस्नेतले बताए । केन्द्रले सदरमुकाम बाहिर ३ वटा उपशाखामार्फत सेवा प्रवाह गरिरहेको केन्द्रका सभापति शेरबहादुर थापाले बताए । उक्त उपशाखाहरुबाट स्थानीय स्तरमै पनि आँखाको ६० प्रतिशत रोगको उपचार हुँदै आएको थापाको भनाइ छ । हाल सदरमुकाम बाहेक सिमलटारी आखाँ उपचार केन्द्र मालिका गाउँपालिका–८, शान्तिपुर आखाँ उपचार केन्द्र चन्द्रकोट गाउँपालिका र कृष्णहरी रुद्रावती आँखा उपचार केन्द्र मुसिकोट नगरपालिका वामीटक्सारबाट यसले सेवा पु¥याउँँदै आएको थापाले जानकारी दिए । यसले जिल्लाका विभिन्न स्थानमा रहेका विद्यालयहरुमा पुगी विद्यार्थीहरुको दृष्टि परीक्षण, समय–समयमा दातृ संस्थाहरुको सहयोगमा दृष्टिदोष भएका बालबालिका तथा ५० वर्ष भन्दा माथिकालाई निःशुल्क चस्मा वितरण गर्दै आएको सभापति थापाले बताए ।