रामचन्द्र रायमाझी
पाल्पा, नेपाल सरकारले सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने र सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य राखेको छ । तर सरकारको क्षयरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्य कार्यान्वयनमा नै चुनौति देखिएको छ । नेपालमा क्षयरोग जनस्वास्थ्य को प्रमुख समस्याका रूपमा देखा परेकाले पनि यो अभियान कार्यान्वयनमा चुनौती देखिएको हो । यहाँ बर्सेनि करिब ६९ हजार क्षयरोगका नयाँ बिरामी थपिने अनुमान गरिएको छ । महिलाभन्दा पुरुष बढी जोखिममा रहेको देखिन्छ । सरकारले क्षयरोगमुक्त नेपाल घोषणा अभियान सञ्चालन निर्देशीका २०७८ जारी गरेपनि बर्सेनि क्षयरोगका बिरामी थपिने गरेका छन् ।
आर्थिक वर्ष २०७७/०७८ मा मात्रै २८ हजार ६ सय ७७ जना क्षयरोगका बिरामीहरु उपचारमा दर्ता भएका छन् । पाल्पामा पनि गत माघ मसान्तसम्मको तथ्याड्ढ अनुसार ३ सय ३५ जना क्षयरोगका विरामी रहेका छन् । जिल्लामा विगत १० वर्षको तथ्याड्ढलाई हेर्दा अहिले कम देखिएपनि सन्तोषजनक भने नरहेको जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन विश्वनाथ न्यौपानेले बताए । यहाँ १० वर्षअघि ४ सय ७५ देखि ४ सय ८० सम्म क्षयरोगका विरामीहरु हुने गरेको भए पनि अहिले ३ सय ३५ जना रहेका छन् । विगतको तथ्याड्ढलाई हेर्दा अहिलेको दर कमी भए पनि लक्ष्य अनुरुप विरामी बढी नै रहेको फोकल पर्सन न्यौपानेले बताए । स्वास्थ्य कार्यालले २०३५ सम्ममा जिल्लालाई नगन्य रुपमा लैजाने लक्ष्य राखे पनि पुरा नहुनेमा शंका गर्न थालिएको छ ।
क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने, माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामको सूक्ष्म कीटाणुबाट हुने सरुवा रोग हो । जसको समयमा परीक्षण गराएर औषधि नियमित खानुपर्छ । तर, पाल्पामा क्षयरोगका बिरामीले औषधि नियमित नखाइदिंदा रोगको रोकथाममा चुनौती थपिएको छ । क्षयरोगका बिरामीहरूले लामो अवधिसम्म उपचार केन्द्रमा आई दैनिक औषधि सेवन गर्नुपर्ने हुन्छ, तर यसलाई झन्झट मानेर धेरै बिरामी नियमित रूपमा औषधि सेवन गर्दैनन् । अर्कातिर, सिकिस्त बिरामी नपरी स्वास्थ्य परीक्षण नगराउने र रोग लुकाएर राख्ने जस्ता कारणले क्षयरोगीको संख्या घट्न सकेको छैन । एकजना संक्रमित बिरामीबाट २० जनासम्ममा क्षयरोग सर्न सक्ने सम्भावना हुन्छ । क्षयरोगसँग मिल्दोजुल्दो लक्षण देखिनेबित्तिकै परीक्षण गराइहाल्नुपर्नेमा त्यसो नगर्दा क्षयरोग फैलिने गरेको छ । अहिले पाल्पासहित देशैभर क्षयरोग चुनौतीपूर्ण देखिएको छ ।
राजनीतिक दलहरुले क्षयरोगमुक्त नेपाल घोषणा अभियान कार्यक्रमलाई सफल बनाउन प्रतिवद्धता समेत जनाएका थिए । तर, प्रतिवद्धता अनुरुप दलहरु संवेदनशिल देखिदैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारले क्षयरोग रोकथाममा बजेट खर्च गरेपनि उपलब्धी निरासाजनक देखिन्छ । हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी पत्ता लाग्ने गरेकामा आर्थिक वर्ष २०७७/७८ मा २८ हजार ६ सय ७७ जनाले मात्र उपचार गराएका थिए । बाँकी बिरामी उपचारको पहुँचबाट बाहिर रहेको जनाइएको छ । यसका आधारमा अझै पनि ७५.४८ प्रतिशत क्षयरोगका विरामी उपचार सम्पर्कबाट बाहिर छन् । बर्सेनि करोडौं बजेट विनियोजन गरिएपनि सो रकम क्षयरोग रोकथाममा भन्दा पनि कार्यक्रम केन्द्रित र औषधिमा मात्रै खर्च हुँदा अभियान प्रभावकारी बन्न नसकेको हो ।