गुल्मी, जिल्लाको रेसुङ्गा नगरपालिकाका वडाहरुमा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । नगरभित्र स्वास्थ्य सेवाको पहँुच बढाउन नगर सरकारले वडातहमा आधारभूत स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको हो ।
नगर सरकारले पछिल्लो समय नगरका तीन वटा वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र शुभारम्भ गरेको छ । उसले वडा नम्बर ४, ७ र ९ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो । वडाका नागरिकलाई आफ्नै घरछेउमा आधारभूत सेवा प्रदान गर्ने उद्देश्य राखेर नगर सरकारले वडास्तरमा आधारभूत सेवालाई तीव्रता दिएको छ । नगरप्रमुख डिल्लीराज भुसालले एकै दिन तीनवटा वडामा आधारभूत स्वास्थ्य सेवा केन्दको शुभाम्भ गरेका छन् । तीन कोठे भवन सहितको आधारभूत स्वास्थ्य सेवा केन्द्रको शुभारम्भ गर्दैै नगरप्रमुख भुसालले सानो–सानो सेवा लिन पनि अस्पतालमा गएर घण्टौं कुर्नुपर्ने बाध्यतालाई अत्य गर्न वडास्तरमै स्वास्थ्य सेवा केन्द्रको स्थापना गरेको बताए । उनले नागरिकलाई घरदैलोमै सेवा दिन अधिकत्तम प्रयास नगरपालिकाले गरेको उल्लेख गरे । सामान्य बिरामी पर्दा अस्पतालमा जाँच गर्ने बृद्ध तथा जेष्ठ नागरिकलाई सहज हुने स्थानीयले अपेक्षा गरेका छन् ।
वडास्तरमा आधारभूत स्वास्थ्य सेवा बिस्तार भएसँगै यसले अन्य विकासका कामहरु खड्काएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए । आधारभूत सेवा सुरुभएसँगै भवनको विस्तार र सेवाको पनि विस्तारको गरिनु आवश्यक रहेको उनले उल्लेख गरे । आधारभूत स्वास्थ्य सेवा केन्द्रको विस्तार भएसँगै यसमा वर्थिङ्ग सेन्टरको समेत माग भएकाले अब त्यसतर्फ ध्यान जाने मरासिनीले बताए । नगरपालिकाले एउटा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन भ्याट सहित २३ लाखका दरले निर्माण गरेको नगरपालिकाका इन्जिनियर कृष्ण कोइरालाले बताए । केन्द्रबाट खोप सेवा, गर्भवती जाँच, सामान्य औषधी सेवा लगायतका आधारभूत सेवा प्रदान गरिनेछ । ७ का वडा अध्यक्ष मोहनप्रसाद पाण्डेले आफ्नो वडामा स्थापना भएको आधारभूत स्वास्थ्य सेवा केन्दबाट गुणस्तरी सेवा प्रवाह गर्ने बताए ।