पाल्पा, जिल्लाको माथागढी गाउँपालिकाले उत्पादन बढाउन किसानलाई मकैको बिउ दिएको छ । गाउँपालिकाको कृषि शाखाले आधुनिक कृषि प्रणालीमार्फत किसानको उत्पादन बढाउने उद्देश्यले अनुदानमा उन्नत जातको मकैको बिउ दिएको हो । गाउँपालिकाका ८ वटै वडाका किसानहरुलाई गाउँपालिकाले मागको आधारमा बिउ वितरण गरेको छ । उसले स्थानीय सरकारको ७५ प्रतिशत र किसानको २५ प्रतिशत लागतमा मकैको बिउ वितरण गरेको हो ।
गत वर्ष ३० क्विन्टल मकैको बिउ दिएको गाउँपालिकाले यस वर्ष ३५ क्विन्टल बिउ वितरण गरेको छ । परम्परागत कृषि प्रणालीलाई निरुत्साहित गर्दै आधुनिक कृषि प्रणालीबाट कृषि गर्ने किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले आधुनिक बिउ, विजन र प्रविधिमा सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले बताए । ‘मकै खेतीको राम्रो सम्भावना रहेको माथागढीमा उत्पादकत्व वृद्धि गरी किसानलाई आत्मनिर्भर बनाउँदै छौं’ अध्यक्ष थापाले भने, ‘मकैको उत्पादकत्वमा वृद्धि गरी मकै पकेट पालिकाको रुपमा विकसित गर्ने योजनामा रहेका छौं ।’ परम्परागत कृषि प्रणलीबाट उत्पादन वृद्धि हुन नसक्दा किसान हैरान भएको अवस्थामा गाउँपालिकाले त्यसतर्फ ध्यान दिएको गाउँपालिकाका प्रवक्ता तथा ४ का वडा अध्यक्ष मधु पराजुलीले बताए । उनले भने ‘मकै उत्पादन हुन छाडेपछि किसानले मकै खेती नै गर्न क्रमश छोड्दै जान थालेका छन् त्यसलाई रोक्नको लागि पनि पालिकाले आधुनिक कृषि प्रणालीलाई अगाडि सार्दै उन्नतजातका बिउ विजन दिर्दै आएको छ ।’ यहाँका किसानलाई मनकामना ३ जातको उन्नत मकैको बिउ वितरण गरिएको गाउँपालिकाका कृषि अधिकृत गौतम थापाले बताए । ‘मकै उत्पादन हुने क्षेत्रका किसानलाई बिउ दिएका छौँ’, उनले भने, ‘गत वर्ष वितरण गरिएको बिउले पनि राम्रो उत्पादन दिएको छ ।’ ‘वर्षेनी बिउ परिवर्तन गर्न सकेमा उत्पादन राम्रो हुन्छ, उनले भने, यसका लागि प्रचार–प्रसार पनि उतिकै आवश्यक छ ।’ प्रत्येक वर्ष बिउ परिवर्तन हुँदा उत्पादन बढ्ने र रोग किरा पनि कम लाग्ने अधिकृत थापाले बताए । धान फल्ने खेतमा राम्रो हुने यो मकै कृषकका लागि आयआर्जनमा समेत निकै फलदायी हुने उनले बताए । मकै खेतीको लागि यहाँको माटो सुहाउँदो भएकाले कृषि शाखाले मकै खेती छनोट गरी बिउ वितरण गरेको जनाएको छ । छिटो पाक्ने र खाद्यतत्व पनि बढी हुने यो मकै निकै राम्रो रहेको कृषि विज्ञहरु बताउँछन् । यो मकै १ सय ४२ दिनमा तयार हुने कृषि शाखाले जनाएको छ । कृषि शाखाले धान र गहुँको बिउ समेत अनुदानमा किसानलाई दिदै आएको छ ।
यस अघि पालिकाले गहुँको विउ किसानलाई उपलब्ध गराईसकेको छ भने अबको केही समयमा धानको बिउ वितरण गरिने कृषि अधिकृत थापाले बताए । मकैको बिउ पाएपछि पालिकाका किसान उत्साहित भएका छन् । मकैको बिउ लिन पालिकाको कार्यालय आएकी झडेवाकी सीता पराजुलीले उन्नत जातको मकैको बिउ पाएपछि खुसी भएकी छन् । उनले मकैको बिउ लिदै भनिन् ‘तीन वर्ष अघिसम्म स्थानीय जातको मकैको बिउ छर्दै आएकी थिएँ, तर मकै ढल्ने र राम्रोसँग घोका समेत नलाग्ने समस्या थियो,गत वर्ष पालिकाले मनकामना जातको मकैको बिउ दिएपछि त्यही छरे, राम्रो भयो मकै पनि धेरै फले, त्यही भएर अहिले पनि उन्नत जातको बिउ ल्याउन आएकी हुँ ।’ पालिकाले उन्नत जातको विउ बाड्न थालेपछि यहाँका अधिकांश किसानले उक्त बिउ छर्ने गरेका छन् । झडेवाका विष्णु जिसीले पनि आफुले अहिले मनकामना तीन जातको मकै छर्ने गरेको बताए । परम्परागत जातको विउको भन्दा यसबाट उत्पादन समेत राम्रो हुने गरेको उनले बताए । पालिकाले कृषक र कृषक समूहमार्फत विउ दिदै आएको छ ।