कृष्ण पोखरेल
पाल्पा, यतिबेला पाल्पामा चैते धान रोपाइँ चलिरहेको छ । जिल्लाका विभिन्न फाँटहरुमा धमाधम चैतेधान रोप्नमा किसान व्यस्त देखिन्छन् । चैतको टन्टलापुर गर्मी घाममा यहाँका किसानलाई धान रोप्नको चटारो छ । महिलाहरु हरियो धानको विउँ काढ्न र रोप्नमा व्यवस्त देखिन्छन् भने पुरुषहरु खेत हिलाउन, आली गरा मिलाउनमै व्यस्त छन् । कतै किसानले हल गोरु लगाएर खेत जोतिरहेका छन् भने कतै गोरुको सट्टा ट्याक्टरको प्रयोग गरी हिलो फेटेका देखिन्छ । सिंचाई सुविधा भएका महाभारत क्षेत्रका पहाडी बस्ती खोला नालाका फाँटहरुमा चैत्र र बर्खा गरी दुईपटक धान रोप्ने प्रचलन रहेको छ ।
पाल्पाका फाँटहरुमा यतिबेला चैते धान रोप्ने चटारो रहेको छ । फागुन महिनामा विउ राखेर चैत महिनामा हिउँदे धान रोप्ने प्रचलन रहेको छ । पाल्पामा नियमित रुपमा कुलो लाग्ने र प्रशस्त पानी भएका खोला नालाका फाँटहरुमा चैते धान रोप्ने परम्परा रहेको छ । जिल्लाको पूर्वखोला, रामपुर, रम्भा लगायतका फाँटहरुमा चैत्रे धान रोप्ने गरिन्छ । यहाँ ६ सय २० हेक्टरमा चैत्रे धानको खेती गरिन्छ भने ७ सय कृषकले चैते धान लगाउँदै आएको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख कामना अधिकारीले बताइन् । पूर्वखोला गाउँपालिकाको पूर्वखोला फाँटका अधिकांश किसानहरु वर्षाैदेखि चैते धानमा आर्कषित हँुदै आएका छन् । पूर्वखोलाबासीले घरको धान प्रयोग गर्न कार्तिक महिना नै कुर्न पर्दैन, असार साउनमा पनि नयाँ धान भिर्याएर आम्दानी गर्न सक्छन् । आफुले जानेदेखि नै हिउँदे धान रोप्दै आएको विरकोटका कृषक धनबहादुर सारुले बताए । असारमा हुँदै आएको धान रोपाइँ चैत्र महिनामा पनि देख्न पाउँदा नयाँ पुस्ता भने दंग छन् । कृषिमा आधुनिक प्रविधिसँगै बेमौसमी खेतीको प्रयोग बढ्दै गएको पाइन्छ । असारमा प्रशस्त मात्रामा नयाँ उत्पादन नहुने, खडेरी, गर्मी मौसमसँगै शुरु भएको बर्षा याममा भोकमरी तथा अनिकाल बढ्ने समयमा हिउँदे धानको उत्पादनले धेरै परिवारको छाक टर्ने, भोकमरी र अनिकाल हट्ने भएकाले नियमित रुपमा हिउँदे चैते धान लगाउँदै आएको पूर्वखोलाकी मिना कामुले बताइन् । देशमा दिनहँु खाद्यान्न उत्पादन घट्दै गएको, आयात बढ्दै गएको समयमा हिउँदे धान खेतीले केही रुपमा भएपनि उत्पादन बृद्धि गरी आयात घटाउने छ । सरकारले आधुनिक कृषि प्रविधिमार्फत सिंचाइको सुविधा प्रदान गरेमा कृषकहरुलाई हिउँदे धान खेतीमा आर्कषित गराउन सकिने प्रशस्त सम्भावना देखिन्छ ।