पाल्पा, नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले ४४ औं वार्षिक साधारण सभा मनाएको छ । रेडक्रसले शनिबार एक औपचारिक कार्यक्रमका बिच साधारण सभा मनाएको हो । सभाको तानसेन नगरपालिकाका नगर प्रमुख अशोक कुमार शाहीले उद्घाटन गरेका हुन् । सभाको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका शाहीले रेडक्रसले जिल्लाको सामाजिक क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताए । रेडक्रसले कोरोना महामारीका बेलामा होस् वा विपद् परेका बेला किन नहोस् जस्तोसुकै अवस्थामा पनि काम गरेको भन्दै उनले रेक्रसको प्रशंसा गरे ।
शाहीले तानसेन नगरपालिका र रेडक्रसबिच सुमधुर सम्बन्ध रहेको समेत स्पष्ट पारे । कोभिड १९, प्राथमिक उपचार तालिम, प्रकोप व्यवस्थापनदेखि एम्बुलेन्स सञ्चालनमा समेत नगरपालिसकासँग सहकार्य गरेको उनले बताए । रेडक्रस र तानसेन नगरपालिकाको सहकार्यमा छिट्टै नै नयाँ एम्बुलेन्स समेत सञ्चालन गर्ने तयारी रहेको प्रमुख शाहीले बताए । कार्यक्रममा रामपुर उपशाखाका सभापति मनोरथ भट्टराई, पूर्व कार्यसमिति सदस्य चित्रवलीराम सुवाल, सल्लाहकारहरु मेघराज शर्मा, मीन बहादुर केसी लगायतले रेडक्रसको सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ र आव २०७९/८० को अनुमानित आयव्यव समेत प्रस्तुत गरिएको थियो । आव २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन शाखाका कोषाध्यक्ष भिमसेन कार्कीले प्रस्तुत गरेका थिए भने आव २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन र भावी कार्यक्रम शाखाका मन्त्री केशवराज पौडेलले प्रस्तुत गरेको रेडक्रसका कार्यक्रम अधिकृत विनोद भारतीले जानकारी दिए । साधारण सभाको बन्द सत्रले कोषाध्यक्षको आर्थिक प्रतिवेदन र मन्त्रीको प्रगति प्रतिवेदन पास गरेको थियो । कार्यक्रममा १८ वटा उपशाखा, जिल्ला शाखा र रेडक्रसकर्मी गरी करीव ७० जनाको उपस्थिति रहेको थियो । कार्यक्रम शाखाका सभापति बुद्धिप्रसाद शर्माको सभापतित्व, उपसभापति शोभा शाक्यको स्वागत, कोषाध्यक्ष भिमसेन कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।