Shittalpati
पाल्पामा प्रेस युनियन र काँग्रेसबिच अन्तरक्रिया

पाल्पा, नेपाल प्रेस युनियन र नेपाली काँग्रेस पाल्पाबिच अन्तरक्रिया भएको छ । नेपाल प्रेस युनियन पाल्पा शाखाको आयोजनामा शनिबार तानसेनमा अन्तरक्रिया कार्यक्रम भएको हो । आसन्न स्थानीय तहको निर्वाचनका विषयमा पत्रकारको भूमिका र समसामियक विषयमा अन्तरक्रिया भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले निर्वाचनमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहने बताए । उनले निर्वाचनलाई प्रभावकारी निष्पक्ष र सभ्य बनाउन पत्रकारहरुको ठूलो हात रहने भएकाले सत्य, तथ्य रुपमा समाचार सम्प्रेषण गर्न आग्रह गरे ।

सभापति श्रेष्ठले भने ‘अहिलेको युग भनेको सञ्चार र प्रविधिको युग हो, आम जनतामा सहि सूचना र समाचार पुर्‍याउन स्वतन्त्र भएर कलम चलाउनुहोस् ।’ काँग्रेसले सक्रिय रुपमा कलम चलाउने पत्रकारको व्यवस्थापनमा ध्यान दिने समेत सभापति श्रेष्ठले बताए । उनले फरक प्रसंगमा स्थानीय तहको निर्वाचनमा आवश्यकता अनुसार गठबन्धन गरेर जाने बताए । कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति झपेन्द्र गरिहेले लोकतन्त्र स्थापनामा प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको भन्दै स्थानीय तहको निर्वाचनमा समेत निष्पक्ष ढंगले कमल चलाउन पत्रकारलाई आग्रह गरे । पार्टी सचिव सन्तोष थापा मगरले पत्रकार समाजको ऐन भएकाले समाजमा भएका विकृति र विसंगतिका विषयमा खरो रुपमा कलम चलाउन आग्रह गरे । अर्का सचिव सुनिता अधिकारीले प्रेससँग काँग्रेसले सहकार्य गरे अगाडि बढ्ने धारणा व्यक्त गरिन् । कार्यक्रममा नेपाली काँग्रेसका प्रवक्ता शोभाकर न्यौपाने, नेपाली काँग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति झमनराज मगर, क्षेत्र नं. २ का क्षेत्रीय सभापति मुक्तिराम जिसी लगायतले स्थानीय तह निर्वाचनमा जनतालाई सत्य, तथ्य सूचना सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरे ।

कार्यक्रम नेपाल प्रेस युनियनका सभापति भरत शर्माले पार्टी बलियो बनाउन भातृ तथा शुभेच्छुक संस्थाहरुलाई बलियो बनाउनुपर्ने बताए । प्रेस युनियनका केन्द्रीय सदस्य माधव अर्यालले जनताको घर घरमा पुगेर मतदाताको मन जित्न नेताहरुलाई आग्रह गरे । युनियनका प्रदेश पार्षद् मुक्ति न्यौपानेले विगतमा भएका गल्ती कमजोरीहरुलाई सच्याए तथ्याड्ढ गत रुपमा निर्वाचनमा जान पार्टी नेतृत्वलाई सुझाव दिए । कार्यक्रममा युनियनका वरिष्ठ व्यक्तित्व शंकर भण्डारी, कोषाध्यक्ष विष्णु खनाल, प्रदेश पार्षद् दिपक पोखरेल, सदस्य सन्तोष गहतराज लगायतले स्थानीय निर्वाचनमा टिकट वितरण गर्दा सक्षम, सबल व्यक्तिलाई दिनुपर्ने, सूचना प्रविधिको व्यापक प्रयोग गर्नुपर्ने तथ्याड्ढको विश्लेषण गरी निर्वाचनमा जानुपर्ने लगायतका सुझाव पार्टीलाई दिएका थिए । कार्यक्रम युनियनका सभापति भरत शर्माको सभापतित्व, सचिव रामचन्द्र रायमाझीको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शनिबार, चैत १९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update