Shittalpati
बिमा रकम नपाउँदा पाल्पाका अस्पताल संकटमा, सेवा बन्द गर्ने तयारी

कृष्ण पोखरेल/रामचन्द्र रायमाझी
पाल्पा, स्वास्थ्य बिमा बापतको भुक्तानी रोकिँदा पाल्पाका ठूला अस्पताल आर्थिक संकटमा परेका छन् । स्वास्थ्य बिमा बोर्डले बिमा बापत पाल्पाको युनाइटेड मिसन अस्पताल, पाल्पा अस्पताल, लुम्बिनी मेडिकल कलेज, आँखा अस्पताल लगायतका बिमा अनुमती पाएका स्वास्थ्य संस्थाहरुमा भुक्तानी नगर्दा आर्थिक संकटमा परेका हुन् । बिमा बोर्डले यि अस्पताललाई ३८ करोड ४३ लाख, ३७ हजार ५ सय ८७ रुपैयाँ भुक्तानी दिन बाँकी छ । रोकिएको अधिकांश रकम औषधिको मात्र हो ।

यहाँका अस्पतालले औषधि किनेर नागरिकलाई वितरण गर्ने तर बिमा बोर्डले भने उक्त रकम भुक्तानी नगर्दा संकटमा परेका हुन् । बोर्ड र अस्पतालहरु बीच भएको सम्झौतामा बिमा अन्तर्गतका सेवा र औषधि बापतको रकम तत्काल उपलब्ध गराउने उल्लेख छ । तर रकम भने बोर्डले पठाउने गरेको छैन । भुक्तानी उपलब्ध गराउन बोर्डसमक्ष पटक–पटक अनुरोध गरे पनि वास्ता नगरिएको यहाँका अस्पतालहरु बताउँछन् । बिमा रकम भुक्तानी नहुँदा अस्पतालमा कार्यरत चिकित्सकसहित स्वास्थ्यकर्मीलाई तलब लगायत सुविधा उपलब्ध गराउनसमेत हम्मे परिरहेको अस्पतालहरुको गुनासो छ । भुक्तानी नपाएपछि यहाँका अस्पतालले उपचार सेवा बन्द गर्ने समेत घोषणा गरेका छन् । पाल्पामा युनाटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेज, पाल्पा अस्पताल, रामपुर अस्पताल, ताहँु प्राथमिक उपचार केन्द्र, खस्यौली प्राथमिक उपचार केन्द्र, पाल्पा लायन्स लाकौल आँखा अस्पताल, कालीगण्डकी आँखा उपचार केन्द्रले स्वास्थ्य बिमामार्फत उपचार सेवा प्रदान गर्दै आएका छन् । लामो समयदेखि भुक्तानी नपाएपछि युनाइेड मिसन अस्पतालले आगामी बैशाख ६ गतेदेखि स्वास्थ्य बिमाका विरामीहरुको उपचार नगर्ने जनाएको छ ।

स्वास्थ्य बिमा लागु भएदेखी नै अस्पतालले बिमाका विरामी लाई २०७४ सालदेखि स्वास्थ्य उपचार सेवा दिदै आएको थियो । स्वास्थ्य बिमा बोर्डले बिमाबाट उपचार गराए वापत अस्पताललाई १२ करोड ७ लाख ३७ हजार ५ सय ८७ तिर्न बाँकी रहेको छ । अस्पतालले पत्रकार सम्मेलन गरी बोर्डले बक्यौता रकम वैशाख ५ गतेसम्म भुक्तानी नगरेमा स्वास्थ्य बिमाबाट हुने सबै किसिमका उपचार सेवा बन्द गर्ने बताएको छ । अस्पतालकी डाइरेक्टर डा. रचेल कारखले हालसम्मको बक्यौता रकमको भुक्तानीको साथै समय अनुसारको औषधी उपचारको मुल्य संमायोजन नभएमा बिमा उपचार सेवा पूर्ण रुपमा बन्द गरिने बताइन् । बिमा बोर्डबाट उपचार वापतको रकम नपाउँदा अस्पतालमा कार्यरत कर्मचारीलाई मासिक तलब खुवाउन, औषधी खरीद गर्न तथा उपचारका उपकरणहरु किन्न समस्या भएको डा.कारखको गुनासो छ । जिल्लामा प्रमुख जिल्ला अधिकारी, स्वास्थ्य बिमा कार्यालय, राजनीतिक दल, जनप्रतिनिधि, सांसदहरुसँग छलफलगर्दा समेत रकम भुक्तानी हुन नसकेको अस्पतालका प्रशासकीय अधिकृत जीवन भट्टराईले बताए । बिमाकै कारण अस्पताल बन्द हुने अवस्था आएपछि बाध्य भएर स्वास्थ्य बिमाबाट हुने उपचार सेवा बन्द गरी अन्य सेवालाई निरन्तरता दिने अस्पतालले जनाएको छ । लुम्बिनी मेडिकल कलेजले पनि रकम नपाएपछि फागुनदेखि बिमाका विरामीको उपचार संख्या कटौती गरेको छ । अस्पतालमा दैनिक ७ सयसम्म बिमाबाट विरामीको उपचार हँुदै आएकोमा फागुन महिनादेखि दैनिक २ सय ५० जना विरामीको मात्र उपचार गरिदै आएको छ । अस्पतालले फागुन महिनासम्मको २२ करोड ७५ लाख रुपैयाँ रकम स्वास्थ्य बिमा बोर्डबाट भुक्तानी लिन बाँकी रहेको प्रवक्ता कृष्णप्रसाद पराजुलीले बताए । बोर्डबाट उपचार बापतको रकम नपाउँदा, कर्मचारीहरुलाई नियमित तलव खुवाउन, दैनिक प्रशासनिक खर्च सञ्चालन, औषधी खरिद, उपचार उपकरण मर्मत तथा नयाँ खदिमा समस्या परेको अस्पतालका प्रवक्ता पराजुलीले बताए ।

बोर्डबाट तत्काल बक्यौता रकम भुक्तानी नभए हालको कोटा समेत बन्द गरिने उनले बताए । बोर्डले पाल्पा लायन्स लाकौल आँखा अस्पतालको फागुनसम्मको १ करोड ७५ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । अस्पतालले दैनिक आम्दानीबाट दैनिक प्रशासन तथा औषधी खरिद गर्दै आएको अवस्थामा लामो समयसम्म ठूलो रकम बिमा बोर्डबाट भुक्तानी नहुँदा समस्या जटिल बन्दै गएको अस्पतालका अध्यक्ष बुद्धिप्रसाद शर्माले बताए । अहिले दैनिक २ सयसम्म आँखाका विरामीले स्वास्थ्य बिमाबाट उपचार सेवा लिदै आएका छन् । पाल्पा अस्पतालले पनि फागुन मसान्तसम्मको १ करोड २३ लाख भुक्तानी लिन बाँकी रहेको छ । समयमा बोर्डबाट उपचार वापतको रकम नपाउँदा ७ जना कर्मचारीको नियमित तलव भुक्तानीमा समेत समस्या भएको, विरामी दर्ता काड छपाई, औषधी खरिद, ल्याव सञ्चालन तथा उपकरण मर्मत तथा नयाँ खरिदमा रकम अभावमा समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताए । अस्पताले किन भुक्तानी पाउन सकेनन् भन्ने शित्तलपाटीको जिज्ञासामा बिमा बोर्डका लुम्बिनी प्रदेश संयोजक मनोज पौडेलले भने यस विषयमा आफुसँग जवाफ नभएको बताए । उनले भने ‘प्रदेशलाई कुनै पनि आर्थिक अख्तियार दिइएको छैन, किन भुक्तानी रोकिएको हो, म आफै अनविज्ञ छु ।’ केन्द्र, प्रदेश र जिल्ला बिच समन्वय नहुँदा यस्तो समस्या आएको संयोजक पौड्याल बताउँछन् । अस्पतालहरुले सही दावी भुक्तानी गरेका छन् भने भुक्तानी दिनुपर्ने उनको भनाईछ । केही सेवा प्रदायक संस्थाहरुले राम्रो काम गरे पनि भुक्तानी नपाउँदा आफुलाई दुःख लागेको पौड्याले बताए । पाल्पामा २ लाख १५ हजार जनाले स्वास्थ्य बिमा गराएका छन् ।

प्रकाशित मिति: आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update