Shittalpati
पाल्पा र गुल्मीका एक लाख ४१ हजार बढी बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइदैं

रामचन्द्र रायमाझी
पाल्पा, सरकारले देशैभर एकै चरणमा टाइफाइड विरुद्ध बालबालिकालाई खोप अभियान सुरु गरेको छ । खोप लगाउन छुटेका बालबालिकालाई अभियान पछि नियमित खोपमा टाइफाइड खोप लगाउने गरी अभियान सुरु गरेको हो । नजिकिँदो निर्वाचन, कोभिड विरुद्धको खोप अभियान, एसईई परीक्षा लगायत शैक्षिक सत्रको दोसाँधमा खोप अभियान सुरु हुने भएपछि स्वास्थ्य संस्थाहरु यतिबेला चापाचापमा परेका छन् ।

पाल्पा र गुल्मीमा पनि खोप अभियानको तयारी अन्तिम चरणमा पुगेको छ । यहाँका यि दुई जिल्लामा एक लाख ४१ हजार ५ सय ५१ जना बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने भएको छ । नेपाल सरकारले देशभर आगामी २५ गतेदेखि खोप अभियान सञ्चालन गर्ने भने पनि पाल्पामा चैत २३ र गुल्मीमा २५ गतेदेखि अभियान सुरु हुने छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले सोमबार जिल्लास्तरीय खोप समन्वय समिति र जिल्लामा रहेका सञ्चारकर्मी बीच एक अभिमुखीकरण तथा अन्तक्र्रियात्मक कार्यक्रम गरी आगामी २३ गतेबाट चैत ३० गतेसम्म अभियान चलाउने जनाएको छ । अभियानमा पाल्पाका ७१ हजार ५ सय ५१ जना बाबालिकाले खोप लगाउने छन् । १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन लागिएको स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्रकुमार गिरीले जानकारी गराए । बालबालिकाहरूलाई दिइँदै आएको नियमित १२ वटा खोपमा थप १ टाइफाइड विरुद्धको थपेर अबदेखि नियमित खोप दिइने उनले बताए । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई खोप दिइने डा. गिरीले बताए । ‘विद्यालय बाहिर रहेका बालवालिका पनि खोपबाट वञ्चित हुँदैनन्’, उनले भने, ‘खोप लगाएपछि टाइफाइड रोगबाट जोगिन मद्दत पुग्छ । खोप लगाएपछि केही दुख्ने बाहेक अन्य कुनै लक्षण देखिंदैन । खोप राम्रो छ । ट्रायलमा आएको खोप होइन ।’ ढुक्क भएर खोप लगाउन उनले आग्रह गरे । खोप सञ्चालन निर्देशिका अनुसार खोप लगाइने भएकाले निसंकोच भएर लक्षित उमेर समूहका बालबालिकालाई खोप लगाउन अभिभावक लगाएत सबैले सहयोग गर्न उनले आग्रह गरे । राष्ट्रिय अभियानका बेला जिल्लाका ७ सय ८० वटा खोप केन्द्रबाट खोप दिइने खोप संयोजक विश्व न्यौपानेले बताए । उनका अनुसार दश स्थानीयमै पुगेर साविक गाविसका ९ वटा वडाहरुबाट बालबालिकालाई खोप दिईने छ ।

तानसेन नगरपालिकाका १५ हजार ३४, रामपुर नगरपालिकाका १३ हजार २ सय ६०, माथागढी गाउँपालिकाका ६ हजार ९ सय २०, बगनासकाली गाउँपालिकाका ४ हजार १ सय ४७, रिब्दीकोट गाउँपालिकाका ५ हजार १ सय ९१, तिनाउ गाउँपालिकाका ५ हजार ४,पूर्वखोला गाउँपालिकाका ४ हजार ३ सय ७५, निस्दी गाउँपालिकाका ३ हजार ९ सय ५८, रम्भा गाउँपालिकाका ४ हजार ४ सय ८१, रैनादेवी छहरा गाउँपालिकाका ७ हजार ३ सय ९८ जना बालबालिकालाई टाइफाइटविरुद्ध खोप लगाइने छ । खोप दिनका लागि जिल्लामा १ सय ८१ जना स्वास्थ्यकर्मी, ६ सय २२ जना स्वास्थ्य स्वयमसेवीका, ४ सय ५३ जना शिक्षक, शिक्षिकका, एक हजार ७५ जना स्वयसेवक र ८१ जना स्थानीय सुपरिवेक्षक खटिने स्वास्थ्य कार्यालयका क्षय, कुष्ठ रोग निरीक्षक टिकाराम अधिकारीले बताए । टाइफाइडका बिरामी संख्या पछिल्लो समयमा बढ्दै गएपछि सरकारले अभियान नै चलाएर खोप दिन लागेकोले सरोकारवाला सबैले अभियान सफल बनाउन लाग्नुपर्ने र खोप लगाउन कोही नछुटोस् भनेर राम्रा कदमहरू चाल्नुपर्ने जिल्ला समन्वय पाल्पाकी कार्यवाहक प्रमुख मिरा मरासीनीले बताईन् । यो खोप नेपालमा पहिलो पटक लगाउन लागिएकाले पनि अभियान सञ्चालनमा चुनौती रहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए । खोपको अत्यन्त प्रभावकारीता रहेकाले ढुक्क भएर खोप लगाउने अभियानमा सहयोग पु¥याउन प्रजिअ पन्तले जिल्लाका पत्रकारहरुलाई आग्रह गरे । उता गुल्मीमा चैत्र २५ गतेदेखि खोप अभियान सुरु हुँदैछ । यहाँ करिव ७० हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका ९३ वटै स्वास्थ्य चौकीबाट टाइफाइड विरुद्धको खोप लगाइने तयारी भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले बताए ।

प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update