पाल्पा, स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको चुनावी तयारी बैंठक बसेको छ । चुनावमा कसरी जाने र आफ्ना उम्मेदवारलाई कसरी विजयी गराउने भन्ने विषयमा छलफल गर्न राप्रपाले तानसेनमा तयारी बैठक राखेको हो । बैठकलाई सम्वोधन गर्दै राप्रपाका केन्द्रीय सदस्य भरतबहादुर चन्दले राप्रपाले हिन्दु धर्म र मुलुकमा भएको भ्रष्टाचारको अन्त्य गर्दै सुशासनको नारा लिएर जनताको माझमा जाने बताए ।
उनले राप्रपाले उठाएको मुद्दा गरिबलाई आरक्षण, १२ कक्षासम्म निःशुल्क शिक्षा र बिना पक्षपात पूर्ण काम गर्ने अठोटका साथ स्थानीय निर्वाचनमा सहभागी हुने बताए । राप्रपा जिल्ला अध्यक्ष डुलबहादुर कुँवरले राष्ट्रियता मजबुत गराउन राप्रपाको अहिले पुर्नजन्म भएको र राप्रपामा भ्रष्टाचारमा संलग्नलाई कुनै स्थान नभएको बताए । अध्यक्ष कुँवरले जनताले राप्रपालाई खोज्नुको कारण इमान्दार केन्द्रीय नेतृत्व भएको हुनाले अहिले लहर आएको बताए । यसैगरी कार्यक्रममा राप्रपाका जिल्ला उपाध्यक्ष ध्रुव खाती, पूर्वअध्यक्ष रेवन्तबहादुर विष्ट, रामपुर नगर अध्यक्ष ज्ञानबहादुर सिंजाली, रम्भा गाउँपालिकाका अध्यक्ष तुुल्सीप्रसाद श्रेष्ठ, रामपुर नगरपालिकाका राजेन्द्र ढकाल, हुमबहादुर शाही लगायतले स्थानीय तहमा राप्रपा सक्रिय रुपमा सहभागी हुने बताए । सोही अवसरमा तानसेनका भूपाल राना, शिव सेन र रापुरका हुमबहादुर शाही राप्रपामा प्रवेश गरेका छन् । राप्रपाले सबै स्थानी तहहरुमा उमेद्वारी दिने तयारी गरिरहेको छ । बैठक जिल्ला सदस्य बासुदेव रेग्मीको सञ्चालन भएको थियो ।